बुधबार, वैशाख ३, २०८२
09:39 | १४:२४

उम्मेद्वारी खुला गर्ने उच्चस्तरीय समितिको निर्णयको एनआरएन अभियन्ताहरुद्वारा स्वागत

नेपाली लिङ्क अप्रिल १४, २०२५


काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का सबै प्रतिनिधि (डेलिगेट्स) हरुले अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) का सबै पदमा उम्मेदवारी दिन पाउने निर्णयको एनआरएन अभियन्ताहरुले स्वागत गरेका छन्।

नेपाल सरकारका प्रतिनिधिहरुसमेत सहभागी उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले त्यस्तो निर्णय गरेको समितिका सदस्य बिनोद कुँवरले जानकारी दिए।

अब तोकिएको शुल्क तिरी आगामी मे ३-५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा भाग लिनका लागि नाम लेखाएका जो कोही प्रतिनिधि आइसीसीको कुनै पनि पदमा उम्मेद्वारी दिन योग्य हुनेछन्।

“विगतमा डेलिगेट्स बन्न पनि निकै अवरोधहरु राखिएका थिए । तर अहिले विशेष परिस्थितिमा सबै पंजीकृत सदस्य डेलिगेट्स बन्न पाउने र सबै डेलिगेट्सहरुले आइसीसीका लागि उम्मेद्वारी दिन पाउने नियम संस्थाको लोकतान्त्रिकरणको लागि कोशेढुंगा सावित हुने छ,” एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले भने। 

उनले यसबाट योग्य तथा समर्पित व्यक्तित्व आइसीसीको नेतृत्वमा पुग्ने ढोका खुलेको पनि बताए।

यसै गरी एनसीसी क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतमले आइसीसीको नेतृत्वमा पुग्न कसैलाई पनि छेकबार लगाउन नहुने बताए। “संसारभरिबाट आएका डेलिगेट्सहरुले आफ्नो विवेक प्रयोग गरेर नयाँ नेतृत्व चयन गर्ने कुरा हो। त्यसैले नेतृत्व चयन प्रक्रिया खुला र पारदर्शी बनाउनु पर्ने अहिलेको आवश्यकता हो,” उनले भने।  

एनसीसी डेनमार्कका पूर्व अध्यक्ष शैलु अधिकारीले पनि नयाँ निर्णयको स्वागत गरे। “आइसीसीको कुनै पनि पदमा उम्मेद्वारी दिन पाउनु हरेक डेलिगेट्सको अधिकार हो। अब सबै प्रतिनिधिहरुले एनआरएनएमा अनुभवी र संस्थालाई डाइनामिक नेतृत्व दिन सक्ने साथीहरुलाई चुन्नु हुने छ भन्ने हामीले विश्वास लिएका छौं,” उनले भने।  

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले आगामी २२ अप्रिल (नेपालको समय राती १२ बजे अगावै) समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर आवश्यक प्रमाणसहित डेलिगेट्स दर्ताको लागि आवेदन दिन आग्रह गरेको छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू