बुधबार, चैत १९, २०८१
20:06 | ००:५१

एनआरएनए आइसीसी अध्यक्षमा बेलायतबाट थर्क सेनको उम्मेदवारी घोषणा (भिडियो)

नेपाली लिङ्क मार्च २७, २०२५

लन्डन- बेलायत कर्मथलो बनाएका एनआरएनए अभियन्ता थर्क सेनले सर्वोच्च अदालतको परमादेश अनुसार आउँदो मे पहिलो साता काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गत आइतबार अल्डरसटमा आयोजित एनआरएनए यूकेको एकता अधिवेशनका क्रममा सेनले उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेलाई साक्षी राखेर अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफू निर्विरोध निर्वाचित हुन सक्ने सम्भावना औंल्याउंदै उनले चुनावी मैदानबाट पछि नहट्ने दावी गरेका छन् ।

एनआरएनए अभियानमा स्थापनाकालदेखि नै होमिएका सेन एनआरएनए यूके सदस्य र उपाध्यक्ष एवं केन्द्रमा एनआरएनए आइसीसी सदस्य हुंदै शेष घले पक्षको वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

विभिन्न पदमा बसेर कयौं जिम्मेवारी कुलशतापूर्वक सम्पन्न गरेको बताउने सेनले ट्राफिक एण्ड ट्रान्सपोर्ट र स्किल एण्ड नलेज ट्रान्सफर टु बिल्ड द मदरल्याण्ड नेपाल जस्ता टाक्सफोर्स लिड गरेर त्यसले नेपालमा प्रभाव समेत परिसकेको बताए ।

आफू अहिलेसम्म कुनै पनि विवादमा नपरेको र संस्थामा अविछिन्न योगदानका कारण संस्था चलाउन योग्य रहेको उनको दावी छ । झण्डै ४० देशका एनसीसीमा गएर सबै गैर आवासीय नेपालीका समस्या बुझेकाले उनीहरुका समस्या समाधान गर्ने क्षमता र अठोट आफूसंग रहेको सेन बताउंछन् ।

‘अहिले एनआरएनमा धेरै समस्या आएको छ । संस्थापक सदस्य भएको नाता र एनआरएन अभियानमा निरन्तर लागेकाले समस्या समाधान गर्न सक्छु भन्ने विश्वास छ’, उनले नेपालीलिंकसंग भने ।

एनआरएनए एउटा सामाजिक च्यारिटीबेल संस्था भएकाले संस्थामा कति योगदान छ त्यसका आधारमा संस्था चलाउन सकिने उनको विश्वास छ ।

सेनका खासगरि ५ मुख्य एजेण्डा छन् । एनआरएनएमा विभाजन अहिले देखिएको समस्याको मुख्य जड भएकाले एकीकृत एनआरएनए बनाउने, वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्ने, भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, नेपालमा लगानी लैजाने एवं मातृभूमिलाई दिनुपर्ने ज्ञान, सीप, पूंजी लैजाने, विदेशका नेपालीका समस्या समाधान गर्न नेपाल सरकारसंग सहजीकरण गर्ने र विदेशमा बस्ने नेपालीको हकहित र अधिकार दिलाउन प्रयत्नरत रहने उनको प्रतिवद्धता छ ।

‘हामीले यसअघि ल्याएको एनआरएनए कार्ड र गैर आवासीय नेपाली नागरिकताको प्रभावकारी देखिएन । त्यसकारण वंशजको नेपाली नागरिकता कायम राख्न मेरो पहल हुनेछ’, उनले भने, ‘खाडीमा रहनुभएका दाजुभाईहरुको लेबर र घरायसी समस्या छ । म हालैमात्र कुवेत, कतार र दुबई जांदा उहांहरुको समस्या नजिकबाट देखें । उहांहरुका समस्या समाधान गर्न म जस्तो निष्पक्ष र निडर व्यक्ति जरुरी छ भन्ने लाग्छ ।’

आफू पनि ब्रिटिश भूतपूर्व लाहुरे भएकाले उनीहरुका समस्या समाधानमा पहल गर्ने सेनले बताए । सेनले एनआरएनए एकताका लागि निरन्तर पहल 
गर्ने समेत जनाएका छन् ।

‘एनआरएन ठूलो समस्यामा छ । सर्वोच्चको परमादेश कुनै व्यक्ति विशेषको रहर वा म्याण्डेट नभइ सर्वोच्चले सबैलाई मिल्ने अवसर दिएको हो’, सेन भन्छन्, ‘एकता अधिवेशनमा गएर संस्थालाई एकीकृत गरौं। लोकतान्त्रिक प्रक्रियामा अपनाउं । संस्था नभए केही हुने छैन् । अब हामी एकै ठाउंमा आउन जरुरी छ ।’

हेरौं थर्क सेनसंग नेपालीलिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू