बुधबार, चैत ५, २०८१
18:05 | २३:५०

मेको एकता अधिवेशन टार्न वा सार्न खोज्नु सर्वोच्चको अपमान (भिडियो)

नेपाली लिङ्क मार्च १९, २०२५

लन्डन । एनआरएनए पूर्व अध्यक्ष कुल आचार्य अहिले एकता अधिवेशन सफल बनाउन जुटिरहेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरिय समितिमा सदस्य र उच्चस्तरीय समिति अन्तर्गत आर्थिक उपसमितिका संयोजक समेत रहेका आचार्य मेमा एकता अधिवेशनको विकल्प नरहेको बताउंछन् ।

‘उच्च बेन्चका श्रीमानहरुको इजलासले गरेको परमादेशमा कत्ति तलमाथि हुंदैन । मे भन्दा अर्को अधिवेशन गर्न कानुनी विकल्प नभएकाले एकता अधिवेशन निर्धारित मितिमै हुन्छ’, उनले भने, ‘परराष्ट्रले पनि मेको विकल्प छैन् भनिसकेको अवस्थामा अब अनेक बहानामा यसलाई सार्न नखोजौं ।’

मेको अधिवेशन टार्ने वा सार्ने भन्नु सर्वोच्च फैसलाको अपमान हुने आचार्यको भनाइ छ ।

‘मे बाहेकको अधिवेशन गर्ने हो भने त्यो सर्वोच्चको अपमान हो’, पूर्व अध्यक्ष आचार्यले लन्डनमा नेपालीलिंकसंग भने, ‘बद्रीजीहरु अक्टोबरमा अधिवेशन सारे एकता हुन्छ भन्दै हिंडनु भएको छ । अक्टोबरमा गर्दा मिल्छ भन्ने के ग्यारेन्टी छ ?’

आचार्यले विभिन्न बहाना गर्नुभन्दा एकै ठाउंमा बसेर मेको एकता अधिवेशन सफल पार्न आवश्यक रहेको बताए ।

परराष्ट्रको निर्देशन अनुसार अधिवेशन तयारी अगाडि बढिरहेको जनाउंदै आचार्यले हायात र याक एण्ड यतीमा भेन्यू ‘कन्फर्म’ भइसकेको र अहिले सदस्यता वितरण भइरहेको जनाए । 

‘उच्चस्तरिय समितिले आफ्नै पोर्टल बनाएर सदस्यता खुलाएको छ । सबै सदस्यले मत गर्न पाउने कार्यविधि बनाइएको छ’, आचार्यले भने, ‘अनलाइन मतदानमा समस्या आएपछि भौतिक रुपमै काठमाडौंमा गएर मतदान गर्न पाइनेछ । सबै सदस्य डेलिगेट्स बन्न पाउने भएकाले अहिले जस्तो लोकतान्त्रिक अधिवेशन कहिले हुन्छ ?’

मेमा बन्ने कमिटी नै वैधानिक हुने र त्यसपछिको अधिवेशनलाई कानुनले नचिन्ने आचार्यले बताए । बद्री केसी पक्षसंग पनि एक भएर अधिवेशन गर्न संवाद भइरहेको उनले बताए ।

‘अझै आकाश खसेको छैन् । यसअघि पनि सहमति अन्तिममा हुने गरेको इतिहास छ । त्यसकारण व्यक्तिगत, विजनेश इन्ट्रेस्ट भन्दा संस्थाको हितका लागि काम गर्न सबैसंग आग्रह गर्दछु’, आचार्यले भने ।

आफ्नो स्वार्थ भन्दा वृहत्तर हितका लागि एकअर्कामा सम्मान गरेर अधिवेशन गर्न आचार्यले अनुरोध गरे । आसन्न महाधिवेशनमा नेपाल गए पर्यटनलाई पनि टेवा पुग्ने उनले बताए ।

हेरौं एनआरएनए पूर्व अध्यक्ष कुल आचार्यसँग नेपालीलिंकले अधिवेशनमा केन्द्रित रहेर गरेको भिडियो संवाद:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू