बुधबार, चैत ५, २०८१
13:56 | १९:४१

गेसो सभापति राईले भावुक पत्र लेख्दै संस्थापक सभापति गुरुङलाई फर्काए जवाफ (पत्र)

नेपाली लिङ्क मार्च १८, २०२५

लन्डन- गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले संस्थापक सभापति पदमबहादुर गुरुङले आफूमाथि आधारहिन आरोपहरु लगाएको भन्दै खण्डन गरेका छन्।

संस्थापक सभापति गुरुङका नाममा सार्वजनिक रुपमै एक लामो भावुक पत्र लेख्दै राईले आफूमाथि लगाइएका आरोपहरुबारे बुंदागत जवाफ फर्काएका हुन्।

पत्रमा सभापति राईले संस्थापक सभापतिले आफ्नो नेतृत्वलाई असफल बनाउन पूर्वाग्रही र नियोजित ढंगले गलत आरोपहरु लगाएको दाबी गरेका छन्।

संस्थापक सभापति गुरुङको नेतृत्वकालमा हरेक परिस्थितिमा एक बफादार कार्यकर्ताका रुपमा सहयोग गरेको स्मरण गराउँदै उनले संस्थापक सभापतिबाट आफूलाई ठीक उल्टो व्यवहार भएको गुनासो गरेका छन्।

गुरुङले राईमाथि लगाएको आरोपविरुद्द बुँदागत रुपमा उनको  जवाफ

१. पदम दाईले म कृष्ण कुमार राईलाई गेसोको सभापति बनाएँ भनेर गर्व मानिरहनु भएको रहेछ । तपाई भ्रममा नपर्नुभए हुन्छ कि मेरो उमेरले अब मलाई साथ दिँदैन । गोरखा आन्दोलन बुझेको ब्यक्ति कृष्ण कुमार राई नै हो भनि मलाई मात्र होइन आफनै अध्यक्षतामा भएको सचिवालयको बैठक, केन्द्रीय समितिको बैठक र गेसोका शाखा समितिहरुसंग बसेको संयुक्त बैठकहरुमा यी कुराहरु तपाई आफैंले राखेपछि गेसोको तेस्रो महाधिवेशन गर्ने सहमति भएर १९ सेप्टेम्वर २०१६ का दिन गर्ने बैठकले सर्बसम्मत निर्णय गर्‍यो । महाधिवेशन पनि तपाईकै सभापतित्वमा भएको थियो । बेलायत सरकारले गोरखा सैनिकहरुमाथि गरिरहेको विभेद विरुद्धमा भइरहेको आन्दोलनको नेतृत्व गर्ने अभिभारा सुम्पनेगरी उपस्थित प्रतिनिधिहरुले गौरवशाली संस्थाको गरिमामय सभापति पदमा मलाई सर्वसम्मत निर्वाचितगरी आन्दोलन हाँक्ने जिम्मा मलाई दिएको हो । भ्रम नहोस् म तपाईले टिका लगाएर दिएको सभापति होइन । म संस्थाको विधान सम्मत निर्वाचित सभापति हुँ । अहिले महाधिवेशनकै मार्गदर्शन अनुसार गेसो अघि बढिरहेको कुरा दाईलाई हेक्का होस् । तपाई नेतृत्वमा हुँदा सत्याग्रहसंग सहकार्य गर्न हुँदैन भन्दै गर्दा सत्याग्रहसंग मात्र होइन भूपूजन्य सबै संस्थाहरुसंग एकता गरेर अघि जानु पर्छ भन्ने कुरा मैले राख्दा तपाईं र मेरो बीचमा भएको अन्तर विरोधले निकै ठाउँ लिएको बिर्सनु भयो । तपाईंको ढिपीगर्ने बानीसंग मैले हार्नु परेको थियो । त्यकारण हामी गेसो केही कमजोडी पनि भयौं भन्ने लाग्छ । जब म नेतृत्वमा आएपछि यो खड्किएको विषय थियो । र, गोरखा आन्दोलनको आवश्यक्ता पनि भएको हुनाले मैले पहल गरेर सबै भूपूजन्य संस्थाहरुसंग सहकार्य हातेमालोगरी आन्दोलनलाई उचाइमा पुर्‍याइएको हो । अहिले सबै भूपूजन्य संस्थाहरु कार्यगत एकतामा रहेकोले दुईसय आठ वर्ष पछि नेपाल र बेलायत सरकारलाई इतिहासमा पहिलो पटक गोरखा भूपू सैनिकहरुको समस्या हल गराउने दिशामा वार्ता गर्न एउटै टेवलमा बसाउन सफल भएका छौं भने गेसोको नेतृत्वको हिसावले म सफल भएको छु। यसमा तपाईंले गर्वगर्न सक्नु होस् कि मेरो उत्ताराधिकारीले सही योजनाकासाथ कार्य सम्पादन गरिरहेको छ भनेर । तपाईंले म माथि लगाएको आरोप विश्वचर्चित गेसोलाई समाप्तपारी रक्त पिपासु जातीबादी सैतान बेलायतलाई बचाउन सभापतिको पद हस्तान्तरण गरेको होइन भन्नु पनि भ्याउनु भएको छ । यो तपाईको बेइमानीको परकाष्टा हो । तपाईंले गेसोमा रहँदा जति योगदान दिनुभएको थियो त्यो भन्दा कम मैले पनि योगदान नगरेको ब्यक्ति होइन । मेरो पनि आन्दोलनमा ठुलो त्याग र योगदान रहेको कुरा नभुल्नु होला ।

२. बेलायती अदालतमा मुद्दा दर्ता गराउनेहरुमा रग प्रसाद पूर्जाको मात्र नाम लिएर दाईले संकृर्णता देखाउनु भयो तर अन्य दुई जना चन्द्र बहादुर पुन र गोपी लामाको नाम नलिनुमा कतै तपाई संकीर्ण मानसिकताबाट ग्रसित भएर त होइन ? त्यसबेला बेलायती अदालतमा मुद्दा लगाउँदा बेलायतले पेन्सन खाइदिन्छ भनेर भूपू सैनिकहरु डराइरहेको समयमा उहाँहरु तिनजनाले साहशका साथ सम्पूर्ण भूपू सैनिकहरुको तर्फबाट मुद्दा दर्ता गराएकोमा उहाँहरु गोरखाहरुको सम्मानित ब्यक्तित्व हुनु भएकोले गेसोको तर्फबाट हामी सलाम गर्न चाहन्छौं ।

३. पदम दाईले सजिलै भन्न सक्नु भएको कुराले म आश्चार्यचकित भएकोछु । तपाईले भन्नु भएको छ कि मेरो कृष्ण कुमार राईसंग नंग र मासुको सम्वन्धमा रहेर काम गरेको हुनाले मेरो आनिबानी जानेको कारण कृष्णले बेलायतसंग मिलेर साल्मे डाँडामा समाधि बनाउन नदिने षडयन्त्र गर्‍यो भन्दै म माथि आरोप लगाउनु भएको छ । वास्तवमा म नेतृत्वमा आएपछि मेरै अध्यक्षतामा वसेको प्रथम बैठकले अभिभावक सम्झेर गेसोको विशिष्ट संरक्षकमा राख्ने सर्वसम्मत निर्णय गरेको थियो । तर त्यो हाम्रो निर्णयलाई तपाईंले अस्वीकार गर्नुभयो । दोस्रो निर्णय म र कोषाध्यक्ष देवीमाया पुनलाई नेपाल पठाउने र साल्मे डाँडामा भइरहेको प्रथम चरणको काम जेजति भएको छ र बाँकी निर्माणका लागि के कति बजेट लाग्छ इन्जिनियरलाई इष्टिमेट गर्न लगाउने, पदम बहादुरको नाममा पैसा पठाइरहेकामा अब त्यसरी हुँदैन गोरखा स्मारक ट्रष्टको नाममा बैंक खाता खोल्ने र स्थानिय र सबै क्षेत्रका मानिसहरु सम्मिलित गराई साल्मे निर्माण समिति गठनगरी बेलायत आउने भनेर बैठकको निर्णय अनुसार हामी दुवैजना नेपाल आइपुग्यौं । विडम्वना पदम दाईले हामी आएको थाहा पाएपछि त्यसको भोलिपल्ट बिहान उठ्दा युट्यूबमा साल्मेमा प्रत्यक्ष कार्यक्रम भइरहेको दृश्य देख्न पाइयो । पदम दाइकै प्रमुख आतित्थ्यमा डा. चन्द्र बहादुर गुरुङ, जंग बहादुर गुरुङको उपस्थिति र पुरञ्ध्वोज गुरुङको अध्यक्षतामा निर्माण समिति गठन गरेको कुरा भाई निराजन राईले वोलिरहेको देखियो । हामी आश्चार्यमा पर्‍यौं र के गर्ने भनेर आकस्मिक बैठक बस्यौं । त्यति मात्र भएत ठिकै थियो तर दाईले भन्नुभयो कृष्ण कुमार राई लगायत गेसोका कोही पनि ब्यक्तिहरु साल्मेडाँडामा आउन आवश्यक छैन आवश्यक पर्दा मेरो हड्डी र छाला बेचेर भएपनि साल्मे बनाउँछु भनेर घोषणा गर्नुभयो । यो निर्माण गर्ने जिम्मा गेसोको हो र गेसोले निर्माण शुरुगरेको हुनाले साथै हामी माथि विश्वास गरेर भूपू सैनिकहरुले रकम दिएको कारण पदम बहादुरले जे बोले पनि निर्माण सम्पन्न गर्नु गेसोको कर्तब्य ठानेर पदम दाईसंग बसी समस्याको हल गरौं भन्ने निष्कर्षमा पुग्यौं । यसको माध्यम को हुन सक्छ भन्ने कुराले हामीलाई अलि पिरोलिरहेको बेला नेकपा एमालेका युवा नेता हरि राईलाई हामीले सम्झेँउ र भन्यौं कि हरिजी तपाईले पदम दाईलाई भेटेर कृष्ण कुमार राई लगायत गेसोका पदाधिकारीहरु तपाईसंग बसेर छलफलगरी समस्याको हल गर्न चाहेको छ । कुन दिन कहाँ र कतिवेला बस्ने भनेर भन्नु होला म कृष्ण दाईलाई भन्छु भनेर हरिजीले पदमसंग कुरा राख्दा पदम दाईले सिधै अस्वीकार गर्दै कृष्ण भनेको को हो ? म उसंग बस्नु पर्ने कारण केहो? म त गेसो र आन्दोलनको आमा हुँ साथै बेलायतलाई घुँडा टेकाउने ब्यक्ति हुँ । मेरो उसंग बसेर कुरा गर्ने फुर्सत छैन भनी हरिजीलाई फर्काइ दिनु भयो । हरिजीले हामीलाई यो खवर भनिसकेपछि अव लफडा गरेर वस्नु उचित हुँदैन साल्मे निर्माण पदम बहादुरले नै गरोस् गेसो अभियान हामीले गर्ने भनेर बेलायत फर्कियौं । अर्को चाखलाग्दो कुरा पनि दाईले लेख्नु भएको रहेछ । साल्मे कृष्ण कुमार राईको नियन्त्रणमा छैन भनेर । हो साल्मे निर्माण मेरो नियन्त्रणमा छैन तर तपाई कै नियन्त्रणमा पनि छैन भन्ने कुरा हेक्का राख्नु भएको भए राम्रो हुने थियो । अव कस्को नियन्त्रणमा छ त ? यो पनि मैले नै भन्नु पर्ने भयो । साल्मेडाँडा त तपाइँकै मित्रहरु डा. चन्द्र बहादुर गुरुङ, डा. गणेशमान गुरुङ, जंग बहादुर गुरुङ र पुरञ्ध्वोज गुरुङको नियन्त्रणमा छ । उहाँहरु आधिकारिक ब्यक्तिहरु हुनु भएको कुरा कागजातले प्रमाणित गरेको देखिन्छ । त्यही भएर नै पदम दाईले दुई दुईपटक साल्मेको मुद्दा हारिसक्नु भएको छ । मुद्दा तपाईकै मित्रहरुले जितिसकेको अवस्था हो । त्यसकारण यो साल्मे तपाईको अधिकार र नियन्त्रणमा रहेन । किनभने तपाईले हाम्रो पवित्र संस्था गेसोलाई पटक पटक भत्काएर धुलो बनाउने कोशिस गर्नुभयो । तर, हामीले वचाएर राख्न सफल भयौं नि दाई । तसर्थ यसको मुल नियन्त्रक डा. द्वय नै हो । उहाँहरुले निर्माणगरी राख्नु भएको छ हामीले देख्दा । गेसोले वनाउन नपाए पनि शुभकामना चाँहि दिन मिल्लानी ∕ सुन्नमा आए अनुसार तपाईले जीवित हुँदै कसैको मुर्ति वनाएर साल्मेमा राखिदिने कुरा गरेपछि उन्माद चढेर कसैको भुँइमा खुट्टा छैनरे भनेको कुरा पनि यो कानले सुनिरहेकोछ । यो सुनेर गेसोलाई लाज लागेर आएको छ । तपाईले यो गर्दा डा. द्वय चन्द्र बहादुर गुरुङ र गणेशमान गुरुङले स्वीकार गर्ला ? आकाशको फल आँखातरी मर । चेतना भया ।

४. सन् २००२ मा पिओडब्लुको मुद्दा जित्नुमा फिलसाइनरको भन्दा डा. गोपाल चिन्तनको अहम भूमिका छ । यदि डा. चिन्तन हाम्रो साथमा नभएको भए गोरखा आन्दोलन र मुद्दा बेलायत पुग्ने नै थिएन । तसर्थ गरेको कामलाई गरेको हो भन्न सक्नु चाँहि इमान्दारिता हो । म दाईलाई सल्लाह दिन चाहन्छु यो जित गेसोको हो । यसमा फिल साइनर मात्र होइन डा. चिन्तनको नाम लिन पनि नभुल्न अनुरोध छ ।

५. साल्मे डाँडामा गोरखा समाधि वनाउन उपयुक्त छैन भनेर पूर्व क्षेत्रबाट र केही पश्चिमबाट पनि आवाज उठ्दा मैले सबैलाई यो यो कारणले यहाँ समाधि निर्माण गर्न उपयुक्त छ भनेर मञ्जु्र नगराएको थिएँ भने निमार्ण कार्य नै शुरुहुने थिएन । यसबारे तपाईंले मलाई कार्यक्रम पस्चात बेलुका पोखरामा अंकमाल गर्दै कृष्ण सर तपाईंले सबैलाई मञ्जुरी गराउनु भएकोमा बधाई भन्दै बधाई दिएको अहिले जस्तो लाग्छ । त्यहाँ समाधि बन्नु पर्छ भनेर बैठकमा प्रस्ताव पूर्व महासचिव महेन्द्रलाल राईले राख्नु भएकोमा बैठकले सर्वसम्मत उपयुक्त स्थानमा समाधि निर्माण गर्ने भनेर निर्णय गरेको कुरा निर्णय पुस्तिकामा सुरक्षित छ त हजुर ।

६. गेसोको नेतृत्वमा करोडौँ लगानीमा बन्दै गरेको राष्ट्रिय गौरवको परियोजना सभापति कृष्ण कुमार राईले धोका र विश्वासघात नगरेको भए अन्य शक्तिको षडयन्त्रले केही फरक पार्ने थिएन भनेर दाईले म माथि आरोप लगाउनु भएछ । पदम दाई म गेसो मार्फत स्पष्ट पार्न चाहन्छु कि गेसोले साल्मे बनाउने भनेर नेपाल आउँदा तपाईं आफै हड्डी र छाला बेचेर भएपनि बनाउने भन्ने र गेसोको कुनै ब्यक्ति साल्मे डाँडामा आउन पाउँदैन भनेर घोषणा गर्ने अनि फेरी आज साल्मे कृष्णले बनाउन दिएन भनेर म माथि आरोप लगाउन उचित हो त दाई ? म, देवीमाया पुन र गेसोका सबै सदस्यहरु निर्माण गर्न नपाउने भुक्तभोगीहरु जिवितै छौं दाई हजुर । यसकारण म स्पष्ट भन्न चाहन्छु साल्मे निर्माण तपाईंकै कारणले नबनेको हो । गेसोलाई साल्मे बनाउन दिन्न भनेपछि म र देवीमाया पुन बेलायत फर्किएका हौं । तपाईले साल्मे बनाउन नदिएको कुरा गेसोका सबै सदस्यहरु र सबै बुद्दिजीविहरुलाई समेत थाहा छ । र पनि जंग बहादुर र चन्द्र बहादुरले बनाउँदै गरेको सुनिन्छ । हो भने उनीहरुलाई तपाईंले धन्यवाद दिन कन्जुसाँई नगर्नुस् है दाई ।

७. १४ जनवरी २०१५ का दिन गेसोको पुनर्गठन गर्ने कार्यक्रम मैले नगरौं भन्दै गर्दा पनि तपाईको ढिपी गर्ने बानीलाई त्यतिवेला पनि मैले रोक्न सकिन । संगठनको महासचिव महेन्द्रलाल राई, उपसभापति जीतबहादुर राई लगायतलाई समेत जानकारी गराउँ भन्दा सो समेत तपाईंले अस्विकार गर्नु भयो । उक्त दिन भएको पुनर्गठन कार्यक्रमकै दिन सबै समितिका सदस्यहरुबाट हामीलाई अब पदम होइन कृष्ण चाहिन्छ भनेर हलमा चारैतर्फ कुरा उठेपछि नियन्त्रण गर्नका लागि पदमको विकल्प छैन भनेर सबभन्दा अघि म बोलेर सबैलाई तपाईंको नेतृत्व स्वीकार गर्न मञ्जुर गराउनका लागि म पहिला बोल्नै पर्छ भनेर तपाईंलाई मैले भनेको विर्सनु भयो ? भन्नुहोस् दाई म तपाईप्रति कति बफादारी रहेछु । मैले त्यो दिन माहोल नियन्त्रण नगरेको भए त्यही दिन तपाईले गेसोबाट बिदा लिनु पर्दथ्यो । सायद त्यो क्षण तपाईले अहिलेसम्म विर्सनु भएको छैन भन्ने लाग्छ ।

८. पदम दाईले कृष्णले मेरो अपमान गर्‍यो भन्नुभएको रहेछ । मैले दाईको अपमान हिजो पनि गरिन आज वा भोलि पनि गर्दिन । मैले त तपाईले सार्वजनिकरुपमा म माथि लगाएका आरोपहरुको सार्वजनिकरुपमै हजुरलाई स्मरण गराउँदै पटक पटक पत्रकार सम्मेलन गरेर मेरो चरित्रहत्या र अपमान गर्नु भएको कुरालाई तपाईप्रति दुःख प्रकट गर्दै उजागर गर्न चाहेको मात्र हुँ ।

९. दाई हजुर तपाईले साल्मे निर्माण कार्यमा कृष्ण बाधक भएकोले अहिले निर्माण कार्य सही ढंगले भइरहेको छैन भनेर पटक पटक भन्नु भएको रहेछ । बाधक म नभई तपाई हो । यदि केन्द्रले म र कोषाध्यक्ष देवीमाया पुनलाई समाधि निर्माण बारे कार्य अगाडि बढाउन नेपाल पठाएको बेला हामीलाई साल्मे जानुमा तपाईले रोक नलगाउनु भएको थियो भने रकम पनि उठ्ने थियो र प्रथम चरणको निर्माण पनि तीन वर्ष पहिले नै भइसक्ने थियो यो सत्य हो । तर दाईले मलाई कमजोर वनाउन षडयन्त्र रच्नु भएकोले हाम्रो निर्माण गर्ने पवित्र भावनामा चोट पुग्यो र उर्जावान कदमहरु थपक्क रोकियो । यसबारे पितृहरुले काँचो बायु भएर आकाशको कालो बादलबाट को सही र को गलत हो भनेर हेरिरहेका छन् । यसको फल अवश्य पितृहरुले दिनेछन् । यसो हुँदै गर्दा पनि साल्मे निर्माण त आफ्नो गतिमा तपाईले नियुक्त गरेका अध्यक्ष पुरञ्ध्वोज गुरुङ र सल्लाहकार डा. चन्द्र बहादुर गुरुङले बनाइरहेकै छ भन्ने लाग्छ । निर्माणका लागि जिम्माचाँही उहाँहरुलाई दिने भन्दाचाँही कृष्णले बनाएन भनेर बोल्नु तपाईको म माथिको अन्याय र कटुतापूर्ण बेइमानी हो ।

१०. म तपाईंले भनेजस्तै बेलायतको दास र आज्ञाकारी ब्यक्ति होइन । म तपाईले कुदाइरहेको गाडी पल्टेर त्रिसुलीको भिरमा १० फिट तल झरेर गाडी कच्याक कुच्चुक हुँदा समेत पनि बाँचेको र तपाईलाई गाडीले च्यापिएकोबाट अतालिँदै सभापतिज्यू भन्दै बाहिर निकाली बचाउने छोरो हुँ । भरिपूर्ण आत्माविश्वासका साथ सन् २०१६ बाट अहिले सम्म बहुआयमिक नेतृत्व कार्यशैली अपनाएर २०८ वर्षपछि सबै संघ संस्थाहरुसंग हातेमालो गरेर नेपाल र बेलायत सरकारलाई वार्ताको टेवलमा ल्याउने सफल नेतृत्व हुँ । तपाई नेतृत्वमा हुँदा कुनै पनि संस्थाहरुसंग सहकार्य गरेर जान मान्नु भएन । तर, म नेतृत्वमा आएपछि २७ मार्च २०१७ का दिन सबै संस्थाहरुसंग सहकार्य गरी अगाडि  बढ्न सक्ने नेतृत्व हुँ दाई । छाती ठोकेर म प्रति गर्व गर्नुहोस् कि मेरो उत्तराधिकारीले सही योजनाका साथ नेतृत्व गरिरहेको छ भनेर ।

११. तपाईंले गेसोमा रहेर २७ वर्ष नेतृत्व गर्दा हङकङमा किन गेसो समिति गठन गर्न सक्नु भएन ? तर मैले १९ सेप्टेम्वर २०१६ मा नेतृत्वमा आएपछि दुई महिना पछि नै हङकङमा गएर समिति गठन गर्न सफल भएँ । दाईले चाँही भाई कृष्ण र गेसोलाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेतर्फमात्र ध्यान दिनुभए पछि समिति गठन गर्न कसरी सक्नु हुन्छ त ?

अन्तमाः मेरो प्रिय दाईले आगामी १८ जुन २०२५ का दिन मेरा आत्मीय नम्बरी कृष्ण बहादुर राईलाई सक्तिशाली नेता बनाई अघि वढाउँदा मात्र भूपू सैनिकहरुको भलाई हुने कुरा गर्नुभएको रहेछ । यसबारे मैले केही भन्न जरुरी छैन दाईको मर्जी । यो तपाईको राम्रो विचार हो । जुठो कहाँ खस्यो आफ्नै थालमा । समयले जवाफ देला ।

मेरो भनाई: दाईले म माथि लगाएका आरोपहरु र गरेको अपमान मेरो जीवनमा अविष्मरणिय भएर मानस पटलमा सधैं गुञ्जिरहने छ । धन्यबाद ।

कृष्ण कुमार राई

सभापति, गेसो

पत्रको पूर्णपाठः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू