मंगलबार, चैत ४, २०८१
22:18 | ०४:०३

नर्सिङ एसोसिएसनले लन्डनमा गर्‍यो ‘उपलब्धिमूलक’ शैक्षिक सम्मेलन

नेपाली लिङ्क मार्च १७, २०२५

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले १५ मार्च शनिबार ह्यारो बरो फुटबल क्लवमा एक शैक्षिक सम्मेलन गरेको छ । सम्मेलनमा नयां पुराना नर्स र स्वास्थ्य सेवा आवद्ध पेशेवरहरु गरि झण्डै ७० जनाको उत्साहजनक सहभागिता थियो ।

सम्मेलनको शुरुमा एसोसिएसनकी महासचिव श्रीजा डंगोलले सेफ्टी ब्रीफ गरेकी थिइन् । त्यसपछि सल्लाहकार टुका स्यान्डवेल र एसोसिएसनकी अध्यक्ष श्रीमती रस्मिता दर्लामीले दीप प्रज्वलन गरि समारोह उद्घाटन गरेका थिए ।

सम्मेलनमा उपाध्यक्ष इन्दिरा बस्यालले सहभागीलाई स्वागत गर्दै मन्तव्य दिएकी थिइन् । पहिलो वक्ता नर्थवेष्ट लन्डन इन्टिग्रेटेड केयर बोर्डका लागि म्याटरनिटी कम्युनिटी म्याट्रन एण्ड लिङ्क प्रोजेक्ट म्यानेजर सृजना कोइरालाले नेपालमा नर्सदेखि बेलायतमा हेल्थकेयर असिस्टेन्ट हुंदै इन्टिग्रेटेड केयर बोर्डमा अन्तरिम लिंक प्रोजेक्ट म्यानेजरका रूपमा काम गर्न पाएको आफ्नो उल्लेखनीय यात्रा सेयर गरेर सहभागीलाई मोहित पारिन्।

सहभागीहरूले सृजनाको कथा प्रेरणादायी बताउंदै सफलता प्राप्त गर्न निरन्तर लगाव र आत्मविश्वास चाहिने महशुस गरिएको बताएका थिए ।

बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा नर्सिङकी एसोसिएट प्रोफेसर एवं ग्रयाजुएट एजुकेशन डेपुटी डिरेक्टर डा. विभा सिम्खडाले करिअर प्रगतिका लागि निरन्तर व्यवसायिक विकासबारे प्रस्तुति दिइन् जसले सहभागीलाई थप करिअर अवसरहरू खोज्न र उपलब्ध पाठ्यक्रम हेर्न प्रोत्साहित गरेको थियो ।

भर्चुअल अस्पताल (साउथ एण्ड वेष्ट हट्र्स हेथ एण्ड केयर पार्टनरसीप) वाटफोर्ड जनरल अस्पताल वेष्ट हर्टफोर्डशायर शिक्षण अस्पताल एनएचएस ट्रष्टकी प्रमुख नर्स कल्पना घिमिरेले सहभागीहरूलाई भर्चुअल केयरको परिवर्तनकारी सम्भावनासंग साक्षात्कार गराइन्, जुन नर्सिङको नयाँ युगका रुपमा आएको छ ।

फ्रिम्ली हेल्थ एनएचएस फाउन्डेसन ट्रष्ट इन्टेन्सिभ केयर र रोयल कलेज अफ नर्सिङका कन्सल्टेन्ट नर्स सुमन श्रेष्ठ ‘एमबीइ’ ले सेप्सिस र नर्सिङ कागजातको पहिचान एवं व्यवस्थापनबारे दमदार प्रस्तुति प्रदान दिए जसले सेप्सिसका बिरामीहरूलाई प्रभावकारी रूपमा पहिचान र व्यवस्थापन गर्न सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गरेको थियो ।

यस अतिरिक्त एनएचएस इङ्गल्याण्ड, लन्डन क्षेत्रकी नर्सिङ एण्ड क्वालिटी डिरेक्टर भिनिस थोमसले स्वास्थ्य सेवामा जातिवादसंग डिल, सहभागीहरूलाई बोल्न र अस्वीकार्य व्यवहारहरूलाई चुनौती दिन सशक्त बनाउने महत्त्वपूर्ण विषयमा सम्बोधन गर्दै सान्दर्भिक नीतिहरुको महत्त्वमा जोड दिइन् ।

एनएमसी (लन्डन) का नियमन सल्लाहकार डेभिड टेलरले फिटनेस टु प्राक्टिस र पुनः प्रमाणीकरणका विषयहरूमा प्रस्तुति दिए । उनको स्पष्ट र जानकारीमूलक मार्गदर्शनले सहभागीलाई तत्काल नयाँ पुनः प्रमाणीकरण कागजात सुरु गर्न प्रोत्साहित गर्दै एनएमसी संस्कृति र अभ्यासबारे जानकारी दिएको थियो ।

सम्मेलनमा आरसीएनका अध्यक्ष विजोय सेबास्टियनले विदेशी नर्सहरूलाई सहयोग गर्नु पर्ने आवश्यकतामाथि जोड दिंदै एसोसिएसनलाई निरन्तर सहयोग गर्ने वाचा गरे ।

नर्सिङ एसोसिएसन टिम राजदूत घिमिरेसँग

सम्मेलनमा दुई विषय रद्द भएपनि अध्यक्ष रस्मिता दर्लामीले सहभागीहरुसमक्ष अर्को वेबिनारमा पुनः तालिकावद्ध गरिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

उक्त सम्मेलनमा एसोसिएसनकी कार्यकारी सदस्य, नर्स, क्लिनिकल प्राक्टिस एजुकेटर (एनएचस) एवं यूके ओइटी ट्रेनर अन्जना सापकोटा खतिवडाले एसोसिएसनको स्थापनादेखि हालसम्मका गतिविधिबारे जानकारी दिइन् ।

त्यसपछि एसोसिएसनकी संस्थापक अध्यक्ष अजिता सिम्खडाले संस्था कसरी गठन भएको थियो भन्ने बारेमा प्रकाश पार्दै श्रीमती रमा खनालले यसको लोगो सिर्जना गरेको कुरा स्मरण गरिन्।

कार्यक्रममा पूर्व अध्यक्ष सुनिता गौतमले सबै वक्ता र ८ औं कार्यकारी समितिलाई उनीहरूको योगदानका लागि कृतज्ञता व्यक्त गरेकी थिइन् ।

छैटौं कार्यसमितिका अध्यक्ष विनोद विकास सिम्खडाले कोभिड–१९ ले विगतका वर्षहरुमा सम्मेलनलाई प्रत्यक्षबाट अनलाइन ढाँचामा रूपान्तरण गर्न कसरी भूमिका खेलेको थियो भन्नेबारे औंल्याए।

अर्का वक्ता कार्यकारी समिति सदस्य वर्षा बेलबासेले नर्सिङ नेतृत्वको बारेमा प्रस्तुति दिएकी थिइन् जुन धेरै उत्कृष्ट र अन्तर्दृष्टिपूर्ण थियो।

एसोसिएसनकी अध्यक्ष रस्मिता दर्लामीले अतिथि, वक्ता, सल्लाहकार, सदस्यहरू, प्रायोजकहरू र सबै सहभागीको अमूल्य योगदानप्रति आभार व्यक्त गरेकी थिइन् ।

कार्यक्रम ३० मिनेटको नेटवर्किङ सत्रसँगै समापन गरिएको थियो जसले नेपालका नयाँ नर्सहरूलाई व्यावहारिक आवेदन तरिका, लेखन विकास र अन्तर्वार्ता सीपहरु प्रदान गरेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नर्सिङ एसोसिएसनबाट ब्रिटिश इन्डियन नर्सिङ एसोसिएसनको प्रतिनिधित्व गर्दै अतिथि सुरेश पनि उपस्थित थिए ।

उक्त कार्यक्रम ओएससीइ एकेडेमी, सन्सया ओइटी ट्रेनिङ, ए स्टार फाइनान्सियल सोलुसन यूके र एचटिआर केयरले प्रायोजन गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव श्रीजा डंगोल र सचिव प्रजु सापकोटाले संयुक्त रूपमा गरेका थिए ।

एसोसिएसनकी अध्यक्ष दर्लामीले समग्रमा सम्मेलन सफल भएको जनाउंदै यसले नर्सिङ समुदायभित्र महत्त्वपूर्ण विषयमा छलफल र करिअर विकासमा प्रेरणा प्रदान गरेको बताइन् । उनले एसोसिएसनको सदस्यता लिएर आगामी दिनमा पनि संस्थाका गतिविधिमा सहभागी भइ लाभान्वित हुन आव्हान गरिन् ।

एसोसिएसनकी अध्यक्ष रस्मिता दर्लामी

नयां राजदूतलाई स्वागत सम्मान

यसैबीच, एसोसिएसनले बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे र श्रीमती सरिता न्यौपाने घिमिरेलाई औपचारिक स्वागत तथा सम्मान गरेको छ ।

मन्तव्यका क्रममा राजदूत घिमिरेले कोभिड–१९ महामारीको समयमा नर्सहरुले प्रदान गरेको अत्यावश्यक हेरचाह एवं बेलायत र नेपाल दुवैमा एसोसिएसनको निरन्तर स्वास्थ्य जागरूकता प्रयासप्रति प्रशंसा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू