सोमबार, चैत ३, २०८१
21:56 | ०३:४१

एनएचएस इंग्ल्याण्ड खारेज गर्ने घोषणा, अब सरकारकै नियन्त्रणमा

डा. बच्चु कैलाश कैनी मार्च १६, २०२५

बेलायतमा जब जब नयाँ राजनीतिक दलले सत्ताको बागडोर सम्हाल्छ, तब नयाँ नयाँ नीति र कार्यक्रमको बाढी नै आउँछ। बेलायतमा हरेक राजनीतिक दललाई सत्तामा पुरयाउने मुख्यतया दुई सूत्रहरु हुन्छन्। पहिलो राजनीतिक दलको नेता, जसलाई देशको भावी प्रधानमन्त्रीको रुपमा हेरिन्छ र उसको क्षमता । दोश्रो राजनीतिक दलको चुनावी घोषणा पत्र, दलको नीति र कार्यक्रम। यी दुई मुख्य कुराको आधारमा जनताले राजनीतिक दललाई चुनेका हुन्छन् र सत्तामा पुरयाएका हुन्छन्।

बेलायतमा हरेक राजनीतिक दलका नीति र कार्यक्रम फरक फरक हुन्छन्। तर, राजनीतिक दलको चासो जनतालाई कसरी प्रभावकारी र सुलभ सार्वजनिक सेवा दिने भन्नेमा र देशलाई कसरी सवल र सम्वृद्ध बनाउने भन्नेमा केन्द्रित हुन्छ। यसै सन्दर्भमा सन् २०२४ को जुलाईदेखि सत्ता सम्हालेको लेबर पार्टीको सरकारले देशमा अनावश्यक सरकारी खर्च कटौती गर्ने, सार्वजनिक सेवालाई चुस्त र दुरुस्त बनाउने प्रमुख मुद्धा बनाउँदै आएको छ।

यसै अन्तर्गत बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा भइरहेको काम कारवाहीको पुनरावलोकन, अनावश्यक रुपमा हुँदै आएको प्रशासनिक खर्चहरु कटौती र यसरी वचत हुने रकम वा बजेट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन खर्च गर्ने सरकारको योजना छ। यसै योजना अनुसार हालै मात्रै बेलायती प्रधानमन्त्री सर किअर स्टार्मरले एनएचएस इंग्ल्याण्डलाई पूर्ण रुपमा खारेज गर्ने र जननिर्वाचित प्रतिनिधिको हातमा एनएचएसको ब्यवस्थापन सुम्पने घोषणा गरेका छन्।

यो महत्वाकांक्षी घोषणा सँगै स्वास्थ्य सेवा र बेलायतको प्रशासनिक क्षेत्रमा हलचल आएको छ। बेलायतको एनएचएस इंग्ल्याण्ड सन् २०१२ मा तत्कालिन टोरी सरकारले खडा गरेको सरकारी निकाय हो। यसले बेलायतको स्वास्थ्य मन्त्रालय अर्थात स्वास्थ्य र सामाजिक हेरचाह विभागले निर्धारण गरेको रणनीतिक लक्ष, नीति र प्राथमिकताको अधिनमा रहेर काम गर्छ। यो सरकारी निकाय एनएचएस इंग्ल्याण्डलाई सरकारले प्रशासनिक स्वायत्तता पनि दिएको छ।

एनएचएस इंग्ल्याण्ड अन्तर्गत स्वास्थ्य सेवा कमिसन गर्ने ४२ वटा कमिसनर अर्थात इन्ट्रीग्रेटेड केयर बोर्ड छन् जसले स्थानीय निकाय र स्वास्थ्य सेवा प्रदान गर्ने निकायसंग मिलेर हरेक क्षेत्रको स्वास्थ्य सेवाको आवश्यकता मूल्यांकन गर्ने, जनताका लागि स्वास्थ्य सेवाको ब्यवस्था गर्न सेवा खरिद गर्ने र सेवाको गुणस्तर मापन गर्ने गर्छन्। अनि यिनै कमिसनरहरुले निर्धारण गरेको स्वास्थ्य सेवा तोकेको बजेट वा मूल्यमा बेलायतका एनएचएस ट्रष्टहरुले अस्पतालमार्फत उपलब्ध गराउँछन्।

यो अर्थमा सरकारको स्वास्थ्य र सामाजिक हेरचाह विभाग मुनी एनएचएस इंग्ल्याण्ड, अनि त्यो निकाय भन्दा मुनी कमिसनर अर्थात इन्ट्रीग्रेटेड केयर बोर्ड र कमिसनरको तल सेवा प्रदायक निकायको रुपमा एनएचएस ट्रष्टहरु हुन्छन्। यसरी सरसर्ती माथिदेखि तलसम्म हेर्दा चारवटा तह रहेकामा अहिले सरकारले एउटा तह अर्थात अर्थात एनएचएस इंग्ल्याण्ड हटाएर तीन तह बनाउने योजना गरेको छ। यो योजना खर्च कटौती र प्रशासनिक झन्झट हटाउने दृष्टिकोणले निकै सह्राहनीय छ।

एनएचएस इंग्ल्याण्डमा हाल करिव १५ हजार कर्मचारी कार्यरत छन्। इङ्गल्याण्डमा एनएचएसले हेडकाउन्टको आधारमा लगभग १५ लाख मानिसलाई रोजगारी दिन्छ भने पूर्णकालिन समय बराबरको आधारमा यो संख्या बदल्ने हो भने करिव १३ लाख मानिसलाई रोजगारी दिन्छ। बेलायतको स्वास्थ्य सेवाको कुल बजेटमध्ये करिव ४९ प्रतिशत रकम मानवीय श्रोत र साधनमा खर्च हुन्छ। यो अर्थमा एनएचएस इंग्ल्याण्डलाई खारेज गर्दा उल्लेख्य रकम वचत हुने देखिन्छ ।

(डा. कैनी एनएचएसमा लामो समय काम गरेका कुशल व्यवस्थापक हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू