बुधबार, फागुन २८, २०८१
09:56 | १५:४१

लन्डनबाट हराएका नेपाली विद्यार्थी डेढ महिनापछि सकुशल भेटिए

नेपाली लिङ्क मार्च ११, २०२५

लन्डन- लन्डनबाट हराइरहेका एक नेपाली विद्यार्थी करिब डेढ महिनापछि सम्पर्कमा आएका छन्।

गत फेब्रुअरी २ तारिखदेखि सम्पर्कविहिन २३ वर्षीय कमल अधिकारी सकुशल फेला परेको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले नेपालीलिंकलाई दिएको जानकारीअनुसार कमल अहिले इष्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेका छन्।

कमल भेटिएसंगै नेपालस्थित उनको परिवारको आग्रहमा उनलाई नेपाल फिर्ता पठाउन तयारी पनि शुरु भइसकेको छ । दूतावाससंगको सम्पर्कमा कमल स्वयमले पनि नेपाल फर्कने इच्छा देखाएका छन्।

‘हप्तौंसम्मको सोधखोजपछि अन्ततः कमल अधिकारीसंग सम्पर्क कायम भएको छ। उहाँ गत फेब्रुअरी २५ तारिखदेखि इष्ट लन्डनको एक होमलेस सेल्टरमा बस्दै आउनुभएको रहेछ’, दूतावासका उपनियोग प्रमुख दुवाडीले नेपालीलिंकसंग भने, ‘म आफैले पनि उहाँसंग कुरा गरें । उहाँले आफू नेपाल फर्कन इच्छुक रहेको बताउनुभएको छ । आफ्नो स्वास्थ्य अवस्था पनि सामान्य छ, समस्या छैन भनेर उहाँले भन्नुभएको छ ।’

कमललाई नेपाल फर्काउन नेपालमा रहेको उनको परिवार र यहाँ उनले आश्रय लिएको सेल्टरका प्रतिनिधिहरुसंगको समन्वयमा काम अगाडि बढाइएको दुवाडीले बताए।

यसअघि लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमल गत फेब्रुअरी २ तारिखदेखि लन्डनबाटै सम्पर्कविहिन बनेका थिए।

धनुषा जिल्लाको हंसपुर ६ घर भएका उनी १७ सेप्टेम्बर २०२२ मा अध्ययनको लागि बेलायत आएका थिए। पछिल्लो समय कमलको आनीबानीका कारण घरभेटीले निकालिदिएपछि उनी सडकमा पुगेका थिए।

कमल सम्पर्कविहिन बनेलगत्तै नेपालस्थित उनको परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो।

यता, लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर उनको खोजीका लागि आग्रह गरेको थियो भने यहाँको स्थानीय नेपाली समुदाय पनि उनको खोजीमा खटिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू