अमेरिकाले रोकेपछि युक्रेनलाई सहायता जुटाउन युरोपेली नेताहरु ब्रसेल्समा


लन्डन । युरोपेली नेताहरु युक्रेनलाई सहायता जुटाउने सम्बन्धमा छलफल गर्न ब्रसेल्स भेला भएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सबै सैन्य सहायता रोक्का गर्न आदेश दिएको केही दिनपछि युरोपका २७ देशका प्रमुखहरु बेल्जियमको राजधानी ब्रसेल्समा एक शिखर सम्मेलनमा भेला भएका हुन् ।
ब्रसेल्स सम्मेलनको मुख्य उद्देश्य युक्रेनलाई सैन्य सहायता बढाउनु रहेको बीबीसीले जनाएको छ ।
युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लियनले मंगलबार युरोपको रक्षा उद्योगलाई बलियो बनाउन र यसको सैन्य क्षमता बढाउन पाँच चरणको योजनाले लगभग ८ सय बिलियन युरो उठाउन र युक्रेनलाई तत्काल सैन्य सहयोग प्रदान गर्न मद्दत गर्न सक्ने बताएकी थिइन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि ब्रसेल्स पुगेका छन् । ब्रसेल्स आइपुगेर राष्ट्रपति जेलेन्स्कीले कठिन घडीमा आफ्नो देशलाई बलियो समर्थन गरेकामा युरोपेली नेताहरुप्रति आभार व्यक्त गरेका छन् ।
‘यो ठूलो कुरा हो कि हामी एक्लो छैनौं’, जेलेन्स्कीले शिखर सम्मेलनस्थल आइपुग्दा भनेका छन् । ‘हामी धेरै आभारी छौं कि हामी एक्लै छैनौं । यी केवल शब्दहरू होइनन्। हामी यसलाई महसुस गर्छौं,’ जेलेन्स्कीले भने, ‘युद्धको सुरुवातदेखि नै तपाईंहरू हामीसँग रहनुभएको छ ।’
गत साता ह्वाइट हाउसस्थित ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच चर्काचर्की भएको केही दिनपछि अमेरिकाले युक्रेनलाई सैन्य सहायता स्थगित गर्ने निर्णय गरेको थियो । सहायता रोके युक्रेन शान्ति वार्तामा आउन वाध्य हुने विश्वास अमेरिकालाई छ ।
तर, अहिले युरोपेली नेताहरु अमेरिकाको सहयोग बिना नै युक्रेनलाई सहायता गर्न एकजुट भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५