शनिबार, फागुन १७, २०८१
03:31 | ०९:१६

जेनेभा भ्रमणबाट फर्किइन् परराष्ट्रमन्त्री

रासस फ्रेब्रवरी २८, २०२५

काठमाडौँ, फाल्गुन १६– परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‍को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा गएकी मन्त्री राणा आज स्वदेश फर्किएकी हुन् ।

उनले गत मंगलबार राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । सो सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरूको सहभागिता थियो ।

मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालले लामो समयदेखि काम गरिरेहको जानकारी विश्व समुदायलाई गराएको उनको भनाइ थियो । सोही प्रतिबद्धताका साथ नेपालले उक्त परिषद्‌को सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएकाले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रसँग नेपाललाई सहयोग गर्न आग्रह गरेको पनि उनले बताइन् ।

‘संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यसहितको उम्मेदवारीमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेँ,’ उनले भनिन्, ‘उहाँहरूले पनि नेपाललाई सहयोग गर्ने वचन दिनुभएको छ ।’

भ्रमण क्रममा मन्त्री राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराएकी थिइन् ।

जेनेभामा रहँदा स्वीट्जरल्यान्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिको लगायत मुलुकका समकक्षी, प्रतिनिधिमण्डल र नेताहरूसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयमा छलफल गरेको उनले बताइन् ।

मन्त्री राणा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा गएकी थिइन् । उनीसहितको प्रतिनिधिमण्डल आज बिहान १०:३० मा काठमाडौं आइपुग्ने कार्यक्रम रहेकामा मौसम खराब भएपछि दोहाबाट आएको कतार एयरवेजको विमान भारतको कोलकाता डाइभर्ट गरिएको थियो । त्यसपछि कोलकाताबाट अपराह्न मात्र टोली काठमाडौं फर्किएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू