बुधबार, फागुन १४, २०८१
21:01 | ०२:४६

केबुलकार विवाद सुल्झाउन आन्दोलनरत पक्षका चार शर्त

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२५

फुङलिङ- ताप्लेजुङमा निर्माणाधीन केबुलकार विवाद समाधान गर्न आन्दोलनरत पक्षले चार शर्त अघि सारेका छन् ।

गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार शर्त अघि सारेको हो।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो, शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि सङ्घर्षरत पक्षबाट वार्ताको वातावरण तयर गर्ने उक्त शर्त अघि सारेको जानकारी गराएको छ।

शर्तहरूमा मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार गर्नुपर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई निसर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनु पर्ने लगायत छन् ।

यस्तै, केबुलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नु पर्ने, पाथीभरा मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने शर्त अघि सारिएको छ ।

गृह मन्त्रालयले यस अघि फागुन ९ गते सोमबार आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो ।

केबुलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो।

‘नो केबुलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा ‘नो केबुलकार’ समूह र प्रहरीबिच झडप भएको थियो ।

उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समुह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएको थियो ।

शनिबार साँझ पनि नो केबुलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका थिए् । झडपको क्रममा ११ प्रहरीसहित २३ जना घाइते भएका हुन् । घाइतेमध्ये एक प्रहरी र तीन जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर ‘रिफर’ गरिएको छ ।

यस्तै, आन्दोलनको क्रममा आपराधिक उपद्रो र हुलदङ्गा गरेको भन्दै १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू