मंगलबार, फागुन १३, २०८१
18:16 | ००:०१

माल्टा हैन काठमाडौँ जाऔँ, एकता अधिवेशन सफल पारौं: युरोप संयोजक सापकोटा

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२५

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले एउटा समूहले यही मार्च महिनामा माल्टामा गर्न लागेको भनिएको क्षेत्रीय सम्मेलनको कुनै आचित्य नरहेको भन्दै आगामी मेमा काठमाडौँमा हुन गइरहेको एकता अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।

“माल्टामा क्षेत्रीय सम्मेलन गर्ने नाममा मानव तस्करहरुले संस्थाको दुरुपयोग गर्ने तयारी गरिरहेको सूचना हामीलाई प्राप्त भएको छ। त्यसो भयो भने सम्बन्धित एनसीसी, आयोजक साथीहरु र संस्थाकै बदनाम हुने छ। यसतर्फ सचेत हुन पनि म आग्रह गर्दछु”, उनले भने।

संयोजक सापकोटाले युरोपका एनसीसीहरुलाई माल्टामा सहभागी नहुन बरु सदस्यता वितरण गरी ठूलो संख्यामा काठमाडौँमा आयोजना हुन गइरहेको एकताको अधिवेशनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरे।

“नागरिकता, सुरक्षित आप्रवासन, प्रवासमा रहेका नेपालीहरुको मताधिकार  लगायतका विषयमा नेपालमै आएर नेपाल सरकारलाई दबाब दिन जरुरी छ, त्यसैले अहिलेको अवस्थामा क्षेत्रीय सम्मेलनको नाममा लाखौं युरो खर्च गर्नु जरुरी छैन। त्यहाँ छलफल गर्ने विषयहरु काठमाडौँमै आएर छलफल गरौँ,” उनले भने।

सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार पूर्व अध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिले आह्वान गरे अनुसार ३-५ मे, २०२५ मा काठमाडौँमा आयोजना हुन लागेको एकता महाधिवेशनमा ठूलो संख्यामा सहभागी हुन पनि संयोजक सापकोटाले सबै एनआरएन साथीहरुलाई आग्रह गरे।

काठमाडौँमा भेला हुनुको सट्टा छुट्टै सम्मेलनहरु गर्दा अदालतको आदेशको अपहेलना हुन सक्ने तर्फ पनि उनले सचेत गराए।

उनले व्यक्तिगत स्वार्थ र इगोलाई त्यागेर संस्थालाई एकजुट बनाउने अवसर आएको पनि बताए। ‘एनआरएनएको गुमेको साख जोगाउने यो एक अवसर पनि हो, यसलाई खेर नफालौं,’- उनले भने। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू