आइतबार, फागुन ४, २०८१
18:38 | ००:२३

अन्तरराष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरु पनि लन्डनमा

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२५


लन्डन- बेलायतमा शनिबार हुन लागेको अन्तरराष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को स्थलगत अडिसनका लागि कलाकारहरु लन्डन आइपुगेका छन् ।

यूके अडिसनकै लागि नेपालबाट नायिका केकी अधिकारी, गायिका सुनिता दुलाल र लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई बिहीबार राती लन्डन आइपुगेका हुन् । कलाकारहरुलाई बेलायत अडिसन संयोजक कलाकार मनसुदन थापाले स्वागत गरेका थिए।

लन्डन उत्रिएपछि कलाकारहरुले नेपाली युवालाई आफ्नो प्रतिभा देखाउने अवसर नगुमाउन आग्रह गरे । ‘हामीहरु धेरै टाढादेखि तपाईंको घर दैलोमै आइपुगेका छौं । डान्स र गायनमा आफ्नो खुवी छ भने प्रस्फुटन गर्न यो ठुलो अवसर हो’- नरेशले भने । 

सुनिता र केकीले पनि बेलायतवासी नेपालीलाई अडिसनमा आउन निमन्त्रणा गरे । भोलि १५ फेब्रुअरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने दुवै शोको अडिसन कार्यक्रम निशुल्क छ । 

यसअघि अभिनेता धिरेन शाक्य र मोडल/डान्सर रिना थापामगर बेलायत आइसकेका छन्।


आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार नै अमेरिकाबाट लन्डन उत्रिएको छ ।

यूके अडिसनमा अहिलेसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको संयोजक मनसुदन थापामगरले जानकारी दिए । उनले इच्छुक प्रतिभाहरुले अझै पनि फाउन्डेसनको वेवसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए ।

विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोका लागि संसारका विभिन्न देशमा अडिसन शुरु भएका छन्।

युरोपमा बेलायतबाहेक पोर्चुगल, पूर्वी एसियामा थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन्।

‘भ्वाइस्’ र ‘डान्स’ दुवै विधामा विजेतालाई १ करोड रुपियाको पुरस्कार छ भने पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैया नगदसहितको पुरस्कार दिइनेछ ।

‘मेरो भ्वाइस् युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक-गायिका शिव परियार, पुष्पन प्रधान, अन्जु पन्त लगायत निर्णायकको भूमिकामा छन्। 

‘मेरो डान्स युनिभर्स सिजन २’ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के तथा कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू