हमास आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
इजरायल–न्यूयोर्कमा कार्यरत नेपालीमूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमास आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
मंगलबार इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृति कार्यक्रममा न्यूयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजीज विभाग प्रमुख समेत रहेका रिजालले प्यालेस्टिनी उग्रवादी समूह हमासले अपहरण गरेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित मुक्तिका लागि पनि आग्रह गरे ।
नेपाली लगायत हमास आक्रमणमा मारिएका सबै व्यक्तिहरूको सम्झनामा आयोजित उक्त कार्यक्रममा बोल्दै रिजालले भने, “त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो । तर, यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो ।”
रिजालले थपे, “हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ । किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्। उनी इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।”
रिजालले हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरूलाई स्मरण गर्दै भने, “नेपाली युवा विद्यार्थी यहाँ अध्ययन, प्रगति र भविष्य निर्माण गर्ने आशासहित आएका थिए। उनीहरूको सपना एक क्षणमै ध्वस्त पारियो। तर आज यी मैनबत्तीहरू बालेर हामी सुनिश्चित गर्न चाहन्छौं कि उनीहरूको सम्झना कहिल्यै मेटिने छैन । उनीहरूका परिवारहरूको हृदयमा र शान्ति तथा सहनशीलताप्रतिको हाम्रो प्रतिबद्धतामा उनीहरू सदैव जीवित रहनेछन्।”
उनले आफ्ना आफन्त (क्याप्टेन श्रवण रिजाल) ले अक्टोबर ७ को आक्रमणपछि २६० जना नेपालीलाई उद्धार गरी नेपाल ल्याउन निर्वाह गरेको भूमिकाको स्मरण पनि गरे । रिजालले त्यस्तो कठिन समयमा नेपाली समुदायलाई दिएको साथ र सहयोगका लागि इजरायली नागरिकहरूलाई धन्यवाद पनि दिए ।
‘आज हामी दुःखमा एकसाथ उभिएको छौं, तर आशाका लागि पनि उभिनुपर्छ । हिंसाले कसैको ज्यान नलिओस्, युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना सपनाहरू पूरा गर्न सकून्, र उज्यालोले सधैं अन्धकारलाई जितोस् । दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। उनीहरूका परिवारजनले धैर्य र शक्ति प्राप्त गरुन्’- आफ्नो मन्तव्यमा रिजालले भने।
अक्टोबर २०२३ मा हमास आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए । नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका विपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गरिरहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५