सोमबार, फागुन २६, २०८१
20:21 | ०२:०६

ऋण लिएर लन्डन आएका कंडेल अहिले ५ देशमा चलाउंछन् विजनेश (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२५

लन्डन । २५ वर्षअघि सन् १९९९ मा विद्यार्थीका रुपमा लन्डन ओर्लंदा राजन कंडेलको सपना केवल उच्च शिक्षा थियो । ऋण जोरजाम गरेर कम्प्युटर साइन्समा ब्याचलर्स डिग्री गर्न लन्डन आएका उनले शुरुका दिन निकै संघर्ष खेपे आम विद्यार्थी जस्तै । पढ्न तेज थिए, पढाइ सकेपछि बेलायतमा अथाह सम्भावना देखेका उनले यतै केही गर्ने योजना बुनेर लन्डन टेकेको ४ वर्षमै कलेज खोले ।

पारिवारिक विजनेश थियो म्यारिटाइम ग्रीनवीच कलेज । पछि कंडेल ग्रुपले साउथ लन्डन कलेज र नर्थवेष्ट लन्डन कलेज समेत खोल्यो ।

हाल प्रपर्टी, शिक्षा, आइटी, स्वास्थ्य र हस्पिटालिटी व्यवसायमा आवद्ध कंडेल ग्रुपले शिक्षालाई नै मुख्य व्यवसायका रुपमा अंगालेको छ । उक्त समूहका अहिले लन्डन, नेपाल, दुबई र क्यानडामा अन्तर्राष्ट्रियस्तरका कलेज छन् । कंडेलकै भनाइमा यतिखेर ति सबै कलेजमा अध्ययनरत विद्यार्थीको संख्या करिब ८ हजार छ ।

कंडेल ग्रुप यूकेले सन् २०१२ बाट नेपालमा ब्रिटिश कलेज (प्रिमियम) शुरु गरयो । अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्ने यो नेपालको सबैभन्दा महंगो निजी कलेज मानिन्छ । उक्त समूहका काठमाडौंमा तीन वटा कलेज वेष्ट मिनिष्टर कलेज, ब्रिटिश मोडल कलेज र ब्रिटिश प्रोफेशनल कलेज छन् ।

ति कलेजका आ आफ्नै विशेषता छन् । ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी लन्डनको एमएससी अकाउन्टिंग एण्ड फाइनान्स कोर्ष उपलब्ध छ जुन अन्यत्र कहीं पनि छैन् ।

कंडेल ग्रुपले आफ्नो गृहनगर चितवन शुक्रनगरमा च्यारिटीबेल विद्यालय मदरल्याण्ड इंगलिश स्कुल समेत शुरु गरेको छ जहां ६ सय विद्यार्थीलाई एकदम न्यूनतम फिमा शिक्षा प्रदान गरिएको छ । उता, बुटबल र पोखरामा समेत ब्रिटिश ग्रामर स्कुल सञ्चालन भइरहेको छ ।

लन्डनबाट नेपाल पछि दुबईमा व्यवसाय विस्तार गरेको छ उक्त समूहले । दुबई मेन सिटीमा करिब अढाइ वर्षअघि द उलवीच इन्सटिच्यूट खुलेको हो । सो कलेजमा बिजनेश, कम्प्युटर, अकाउन्ट, हस्पिटालिटी लगायत कोर्षमा डिप्लोमा तहको पढाइ हुन्छ ।

दुबईको सफलतापछि कंडेल ग्रुपले क्यानडास्थित हेलिफ्याक्स सिटीमा गत अगष्ट २०२४ मा म्यारिटाइम बिजनेश कलेज खोलेको छ ।

लन्डन उलवीचमा ‘द उलवीच कलेज’ ले युनिभर्सिटी अफ ग्रीनवीचसंगको सहकार्यमा विभिन्न डिग्री कोर्सहरू सञ्चालनमा ल्याएको छ। उक्त कलेजमा युनिभर्सिटी अफ ग्रीनवीचबाट स्वीकृत डेन्टल, फार्मेसी, हेल्थ एण्ड सोसल केयर, बिजनेश म्यानेजमेन्ट, हस्पिटालिटी, कम्युटिङमा ब्याचलर्स कोर्ष पढाउन थालिएको हो । कलेजमा स्टुडेन्ट लोन कम्पनी (एसएलसी) बाट फण्डेड कोर्ष उपलब्ध छन् अर्थात बेलायतको आवासीय अधिकार (आइएलआर) वा ब्रिटिश पासपोर्ट भएको व्यक्तिले सरकारी ऋणमा पढ्न पाउंछ ।

‘लेभल टु’ पास गरेकाले आफ्नो कलेजमा भर्ना हुन सक्ने कंडेलले जनाए । सरकारले ‘मेन्टेनेन्स’ खर्च बेहोर्ने र सातामा दुई दिनमात्र पढे हुने भएकाले जुन उमेर समूहकाले पनि सहज रुपमा पढ्न सक्ने राजन बताउंछन् ।

यूके युनिभर्सिटीको फ्रेन्चाइज क्याम्पस खोल्ने प्रक्रियामा समेत आफूहरु रहेको कंडेलले बताए । उनको अमेरिकामा आइटी कम्पनी छ ।

व्यवसायमा धेरै संघर्ष पनि सामना गर्नु परेको थियो कंडेलले । ‘विजनेशमा समस्या त कति आए । केही विजनेश बन्द पनि भए’, कंडेलले दुःखका दिन स्मरण गरे, ‘बेलायत सरकारले इमिग्रेसन नीतिमा धेरै कडाइ गरेका कारण आफ्नै केही कलेजहरु समेत बन्द गर्न बाध्य भएपछि बीचमा त मैले गीभअप नै गर्न खोजेको थिएं। विजनेशमा लाग्दा धेरै चीज गुमाउनु पनि परेको छ । परिवारलाई दिने समय त्यागेर खटिनुपर्छ, कहिले फाइनान्सियल प्रेसर हुन्छ कहिले मिडियाको । विजनेश सेट अप गर्दा हुने झन्झट र तनाव त बेग्लै छ ।’

व्यवसायमा सफलता चुम्न धैर्यता चाहिने उनी बताउंछन् । ‘हामी हिंड्ने बाटो फूलैफूलकोमात्र हुन्न, बाटोमा कांडा पनि हुन्छन् । कांडा पन्छाएर हिंड्न सक्यो भने मात्र गन्तव्यमा पुग्न सकिन्छ’, उनको सुझाव छ ।

कंडेल ग्रुप यूकेका प्रवन्ध निर्देशक राजन कंडेल अहिले बेलायती डायष्पोरामा सफल व्यवसायीमध्ये अग्रपंक्तिमा छन् । यद्यपि उनलाई मातृभूमिमै केही गर्न मन छ, देशको समृद्धि हेर्ने सपना छ ।

अन्टरप्रिनरसीपका हिसावले नेपालमा आइटी क्षेत्रमा 
राम्रो स्कोप देखेका राजनले नेपाललाई शिक्षा र आइटी हब बनाउने सपना देखेका छन् । शिक्षा र आइटीबीच अन्तरसम्बन्ध रहेको र आइटी सेक्टरमा देखिएको सम्भावना बढाउन शिक्षामा बढी लगानी आवश्यक ठान्छन् उनी ।

अहिले नेपाली युवा अध्ययनका लागि करोडौं खर्च गरेर विदेश उडिरहेका छन् । सरकारले लगानीकर्तालाई इन्टरनेशनल युनिभर्सिटी खोल्न दिए विदेश पलायनको डरलाग्दो प्रवृत्ति केही हदसम्म कम हुन सक्ने उनको बुझाइ छ ।

‘आफ्नै देशमा थोरै पैसामा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न चाहने जमात पनि असंख्य छ । तर, नीति निर्माताहरुको गलत सोचका कारण पनि नेपाली विद्यार्थीको आकर्षण विदेशी युनिभर्सिटीतिर बढ्यो’, उनले भने ।

नेपालमा मेडिकल र आइटी शिक्षामा ठूलो सम्भावना देख्छन् कंडेल । ‘यसले पछि रोजगारी पनि सृजना गर्नेछ । तर, सरकारले नै सम्भावनाको सबै ढोका बन्द गरिदिएको छ’, कंडेलले नेपालीलिंकसंग भने, ‘नेपाल दक्षिण एसियामा शिक्षाका लागि उत्कृष्ट केन्द्र बन्न सक्थ्यो । बिडम्बना सरकारले नेपाली विश्वविद्यालयको स्तर बिग्रन्छ भनेर नयां अन्तर्राष्ट्रिय कलेजहरु खोल्न रोकिरहेको छ ।’

अढाइ दशक अघि नेपालबाट ऋण लिएर लन्डन टेकेका कंडेलको अहिले ५ वटा देशमा व्यवसाय छन् । उनी अमेरिकासहित अन्य देशमा समेत आफ्नो व्यवसाय विस्तार गर्ने तयारीमा जुटिरहेका छन् ।

कंडेल नेपालीहरुमा समेत व्यवसायिक दक्षता भएकाले विश्व बजारमा दरिलो उपस्थिति हुनुपर्ने बताउंछन् ।

उनले इच्छुक लगानीकर्ताहरुसंग सहकार्य गर्न, मेन्टरिङ गर्न आफू तयार रहेको बताए । ‘नेपाली युवाहरुले फराकिलो दायरामा सोच्नुपर्छ, ठूलो सपना देख्नुपर्छ’, उनले भने, ‘बिजनेश सेक्टरमा मिलेर काम गर्ने हो भने हामी ग्लोवल्ली सफल हुन सकिन्छ । म सहकार्य गर्न तयार छु ।’

यूकेमा द कंडेल फाउण्डेशन दर्ता गरेको कंडेल समूहले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको छ ।

हेरौं कंडेल ग्रुप यूकेका प्रवन्ध निर्देशक राजन कंडेलसंग नेपाली लिंकको संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू