मंगलबार, मंसिर ११, २०८१
19:32
|
०१:१७
बेरुत विस्फोटनका कारण ६० जना अझै बेपत्ता
रासस-एएफपी
अगस्ट ८, २०२०
बेरुत-२४ साउन- लेबनानको राजधानी बेरुतमा भएको विस्फोटनका कारण बेपत्ता भएका मध्ये ६० जना अझै सम्पर्क बिहिन रहेका छन् । दुर्घटना भएको चार दिन वितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।“अहिलेसम्म मृत्यु भएकाहरुको संख्या १५४ पुगेको छ । ती मध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन,” एक अधिकारीले एएफपीलाई भने ।
उहाँले अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रीले शुक्रवार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका र ती मध्ये १२० जनाको अवस्था गम्भीर छ ।
विस्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्रसित अवस्थामा छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबार विहिन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।
विस्फोटनको घटनाप्रति विश्वभरका नेताहरुले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले लेबनानलाई सहयोग पनि गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ