भूतपूर्व गोर्खाको समर्थनमा बेलायती संसदमा दमदार सम्बोधन (भिडियो)
लन्डन- बेलायतका एकजना सांसदले बेलायती संसदमा भूतपूर्व गोर्खाहरुको समर्थनमा दमदार सम्बोधन गरेका छन्।
नेपालीहरुको उल्लेख्य बसोबास रहेको वेल्सको ब्रेकनलगायत क्षेत्रलाई प्रतिनिधित्व गर्ने लिबरेल डेमोक्रयाट सांसद डेभिड चाडविकले भूतपूर्व गोर्खाहरुमाथि ऐतिहासिक रुपमै भेदभाव हुंदै आएको दावी गर्दै उनीहरुलाई न्याय दिनुपर्ने आवाज उठाएका हुन्।
‘हाउस अफ कमन्स’ मा गत साता बेलायत सरकारको ‘आर्मड् फोर्सेस कमिश्नर विधयेक’ माथि छलफलको क्रममा सांसद चाडविकले पूर्व गोर्खाहरुप्रति विगतदेखि हुंदै आएको विभेदपूर्ण व्यवहारले आफूलाई सरकारद्वारा प्रस्तुत विधयेक संशोधनको समर्थनमा उभिन बाध्य गराएको उल्लेख गरे । उनले भने, ‘बेलायतका लागि विशिष्ट सेवाका बाबजुद गोर्खाहरूले धेरै दशकदेखि ठूलो भेदभावको सामना गर्दै आएका छन्।’
‘आफ्नो बहादुरी, व्यवसायिकता र नम्रताका लागि विश्वभर प्रख्यात गोर्खाहरूले ५० वर्षभन्दा बढी समयदेखि ब्रेकन क्षेत्रलाई आफ्नो घर बनाएका छन्’, सांसद चाडविकले भने, ‘बेलायती सेनामा उनीहरूको विशिष्ट सेवाको क्रममा यहाँ बसोबास गरे र पछि हाम्रो समुदायको अमूल्य स्तम्भ बने।’
जोआना लुम्लेजस्ता अभियन्ताहरुको समर्थनमा बेलायतमा गोर्खाहरूले बसोबासको अधिकार प्राप्त गरेको तर त्यो पर्याप्त नरहेको सांसद चाडविकको भनाइ छ ।
‘गोर्खाहरूले सक्रिय सेवा छोडेपछि पर्याप्त सहयोगहरु पाउन सकेनन्, समान कामका लागि उनीहरूले ब्रिटिश समकक्षीभन्दा कम तलब प्राप्त गरे र धेरैलाई उचित पेन्सनबाट वञ्चित गरियो’, उनले थपे, ‘आज पनि सन् १९९७ भन्दा पहिले सेवा गरेका भेट्रानहरू समान पहिचान र व्यवहारको लागि संघर्षरत छन्।’
सांसद चाडविकले संसदमा प्रस्तुत विधयकले पूर्व गोर्खाहरुलाई न्याय दिलाउने गरी अघि बढ्ने विश्वास गर्दै अरु सांसदहरुलाई पनि गोर्खाको न्यायका पक्षमा ऐक्यबद्ध हुन आव्हान गरेका छन्।
हेरौं भिडियो:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५