गेसो संस्थापक सभापति गुरुङले खोजे वर्तमान नेतृत्वको विकल्प
लन्डन । गोर्खा आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को वर्तमान नेतृत्वमाथि प्रश्न उठेको छ ।
गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले सभापति कृष्णकुमार राईलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका छन् । सभापति राईले संस्थालाई माओवादीको भ्रातृ संगठन बनाएको, ८ वर्ष कार्यकालमा सिन्को नभांचेको, संगठनका संस्थापकहरुलाई नियतवश निष्कासन गरेको जस्ता आरोप लगाएका छन् ।
जनवरी दोश्रो साता अल्डरसटमा आयोजित एक भेलामा गुरुङले राईलाई कि माओवादी केन्द्रिय सदस्यमात्र बनेर राजनीति गर्न नत्र त्यहां त्यागेर गेसोलाई सशक्त नेतृत्व गर्न चुनौति दिए ।
‘म अब छिट्टै नेपाल गएर ३५ दिनको अल्टिमेटम दिई महाधिवेशन बोलाउन कृष्णकुमारलाई अल्टिमेटम दिन्छु । उसले मान्दैन भने नेतृत्वको विकल्प खोजिनेछ’, उनले चेतावनी दिए ।
ब्रिटिशसंग लड्न वर्तमान गेसो नेतृत्वसंग कुनै शक्ति नभएको समेत गुरुङले बताए ।
‘लन्डनमा गेसोलाई बत्ति बालेर खोज्नु पर्ने अवस्था छ । कृष्ण कुमार राईले न आन्दोलन हांक्न सक्यो, न साल्मेडांडाको मुद्दामा केही गर्यो’, उनले आक्रोश पोखे ।
आफूमाथि सभापति राईले भौतिक आक्रमण नै गरेको जिकिर गर्दै गुरुङले मार्नेसम्मको षडयन्त्र र मानसिक तनाव दिएपछि आफ्नो जीवनरक्षा र साल्मेडांडा प्रोजेक्टका खातिर सन् २०१६ सेप्टेम्बर १९ तारिख एम्पायर हलमा साधारणसभा गरेर विधिपूर्वक सभापति पद हस्तान्तरण गरेको उनको भनाइ छ ।
रेडिङ कमिटीको बैठकका बेला सभापति राईले मार्छु भनेर सिसाले हान्दा आफू रगताम्य भएको दावी समेत गुरुङले गरेका छन् ।
‘मैले साल्मेडांडा समाप्त हुन्छ भनेर यो कुरा पहिला कहिल्यै बाहिर ल्याइन । नेपाल भएका बेला मर्निङ वाकमा ‘गोर्खा भर्ती बन्द गर्नु पर्छ भन्ने तं होइनस्‘ भनेर ममाथि आक्रमण समेत भयो’, उनले सभामा सुनाए ।
गुरुङले गत नोभेम्बर २७ मा बेलायत र नेपाल सरकारलाई ६ महिने अल्टिमेटम दिइएको स्मरण गर्दै अब बेलायतविरुद्ध सशक्त रुपमा लड्ने उद्घोष पनि गरे ।
‘म ८२ वर्ष उमेरमा पनि ४० वर्षको जोस जांगर निकालेर ब्रिटिशसंग लड्न अघि सरेको छु’, उनले भने, ‘आन्दोलन अगाडि बढाउन हामीले ७ जना बुद्धिजिवीको कोर टिम बनाएका छौं । उक्त राष्ट्रिय सम्प्रभुता आन्दोलन समितिमा म सभापति छु । उपसभापति भक्तबहादुर गुरुङ, राम गुरुङ, प्राध्यापकहरु अमृत खरेल र रामकुमार राई, पत्रकार इन्द्र बानिया, वरिष्ठ अधिवक्ता वृन्दा पाण्डे लगायत छौं ।’
नेपालको बर्बादीको कारण बेलायत रहेको समेत उनको जिकिर थियो । नेपाललाई युक्रेन बनाउने षडयन्त्र भइरहेको समेत उनको दावी थियो ।
साल्मेडांडा योजना विफल बनाउन कीर्ते कागजात गरि आफूलाई ट्रष्टीबाट समेत हटाइएको बताउंदै गुरुङले त्यसविरुद्ध उच्च अदालतमा मुद्दा हालेर ०७४ सालदेखि आफ्नै पेन्सनबाट मुद्दा लडिरहेको स्मरण पनि गरे ।
गेसो वरिष्ठ उपसभापति भक्तबहादुर गुरुङले संस्थामा विचलन आएको बताउंदै गोर्खा आन्दोलन सशक्त बनाउन पनि सांगठनिक फेरबदल जरुरी रहेको औंल्याए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५