शनिबार, माघ १२, २०८१
23:55 | ०५:४०

अस्ट्रेलियाका प्रधानमन्त्रीले गरे ६२ करोड डलर बढीको नगद प्रोत्साहन घोषणा

रासस/सिन्ह्वा जनवरी २४, २०२५

क्यानबेरा- अस्ट्रेलियाका एन्थोनी अल्बानीसले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका छन् ।

नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका हुन् 

यसले अस्ट्रेलियामा ‘ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष कामदारलाई सहयोग गर्ने र निर्माण कार्यबललाई प्रोत्साहन गर्ने उनले बताए ।

प्रोत्साहनका लागि ६२ करोड ६० लाख ९० हजार अस्ट्रेलियन डलर (करिब ३९ करोड ९० लाख ४० हजार अमेरिकी डलर) छुट्टाइएको छ ।

यस नीतिअन्तर्गत आवासीय निर्माणमा काम गर्ने दक्ष श्रमिकहरूले उनीहरूको प्रशिक्षणको क्रममा पाँच किस्तामा १० हजार अस्ट्रेलिया डलर (छ हजार ३०८ अमेरिकी डलर) प्राप्त गर्नेछन् ।

अल्बानीसले भने, “हामी नयाँ पुस्ताका दक्ष कामदार (ट्राडिज) हरू पहिचान गर्नेछौं, हामीलाई आवश्यक नयाँ घरहरू निर्माण गर्न हामीले भरोसा गरिरहेका व्यक्तिहरू आर्थिक दबाबमा छन् ।”

उनले भने, “धेरैले आर्थिक अभावका कारण प्रशिक्षण छोड्छन् । हाम्रो सरकार धेरैभन्दा धेरै अस्ट्रेलियालीलाई उपकरणहरू प्राप्त गर्न र निर्माणमा रहन प्रोत्साहित गर्न चाहन्छ।”

अल्बानीसको लेबर पाटीको नेतृत्वमा रहेको सरकारले सन् २०२३ मा अस्ट्रेलियामा सन् २०२९ सम्मको पाँच वर्षको अवधिमा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो ।

उद्योग सङ्गठन मास्टर बिल्डर्स एशोसिएशनले बुधबार दिएको जानकारीअनुसार सन् २०२४ सेप्टेम्बरसम्म १२ महिनाको अवधिमा एक लाख ६५ हजार नयाँ घर निर्माण सुरु भएको छ ।

एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।

अल्बानीसको सरकारद्वारा स्थापित उद्योग नेताहरूको एक सल्लाहकार समूहका अनुसार १२ लाख नयाँ घर निर्माण लक्ष्य पूरा गर्न थप ९० हजार आवास निर्माण श्रमिकहरूको आवश्यकता पर्दछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू