बिहीबार, माघ १०, २०८१
21:58 | ०३:४३

लन्डनका व्यवसायी कटुवाल बेलायतको १०० प्रभावशाली व्यक्ति बन्न सफल

रासस जनवरी २२, २०२५

लन्डन, माघ ९ गते । लन्डनका नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन् । 

कटुवालले पटक पटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्व बेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत छन् ।  

कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुन् । बेलायतमा दर्ता भएको परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ को सहयोगार्थ कटुवालले दुई पटक छ हजार माइलको पैदल यात्रा गरेका थिए । गैरसरकारी संस्था कम्ब्याट स्ट्रेसले सेवा निवृत्त सैनिकलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

त्यस्तै कटुवालले कोरोना सङ्क्रमणकालमा सङ्कटमा परेकाहरूलाई निःशुल्क खाना उपलब्ध गराएका थिए । पानस हेल्पिङ ह्यान्डस् च्यारिटीसमेत सञ्चालन गरिरहेका कटुवालले ‘कोभिड लकडाउन’ का समयमा एक लाखभन्दा बढी स्वास्थ्यकर्मी तथा घरविहीन मानिसलाई निःशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका थिए ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो ।

नेपाल विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत आएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू