नयां राजदूतका प्राथमिकताः आर्थिक-राजनीतिक कूटनीतिदेखि गोर्खासम्म (भिडियो)
लन्डन- बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरेले बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन निरन्तर पहल रहने बताएका छन् ।
लन्डन दूतावासमा कार्यभार सम्हालेको भोलिपल्ट नेपालीलिंकसंग पहिलोपटक एक्सक्लुसिभ कुरा गर्दै राजदूत घिमिरेले त्यसमा आफ्नो पहल निरन्तर रहने बताएका हुन् ।
बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय ८ वर्ष भन्दा बढी समयमा अहिलेसम्म एकजना बेलायती प्रधानमन्त्रीको पनि नेपाल भ्रमण भएको छैन् ।
‘पहिल्यै समय राखेर भन्न त सक्दैनौं । तर म आशावादी छु । आगामी दिनमा दुवै तर्फबाट महत्वपूर्ण भ्रमण हुनेछन् । त्यसले दुई देशबीचको सम्बन्धलाई थप संवर्धन गर्नेछ’, उनले दूतावासमा भने ।
बेलायत नेपालका लागि निकै महत्वपूर्ण मुलुक र बेलायतसंगको सम्बन्ध नेपालका लागि निकै महत्वपूर्ण, ऐतिहासिक एवं सेरेमोनियल रहेको बताउंदै उनले दुई देशले पारस्परिक हितका थुपै्र क्षेत्रमा काम गर्दै आएको पनि उल्लेख गरे ।
आफ्नो कार्यकालमा आर्थिक र राजनीतिक कूटनीतिलाई प्राथमिकता दिने उनले बताए । लामो समय उद्योग र वाणिज्य क्षेत्रमा सेवा गरेका पूर्व सचिव घिमिरेले बेलायतको अर्थतन्त्रबाट बढी भन्दा बढी लाभ लिने गरि जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘नेपाल सरकारका अपेक्षा छन्, नेपालको अर्थतन्त्रका अपेक्षा छन् । नेपाली समाजका केही अपेक्षा छन् । यी सबैलाई पुरा गर्ने गरि मैले निकै लामो एउटा कार्ययोजना तयार गरेको छु’, राजदूतले अगाडि भने, ‘ति कार्ययोजना संसदीय सुनुवाइका क्रममा सम्मानित संसदसमक्ष काठमाडौंमा पनि पेश गरेको छु । विभिन्न सरोकारवालासंग त्यसलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भनेर मैले छलफल चलाएको छु । त्यसमा पोलिटिकल डिप्लोमेसीका कुरा परेका छन् । कहां कसरी हामीले लाभ लिन सकिन्छ भन्ने कुरा त्यसमा छन् । कतिपय इकोनोमी डिप्लोमेसीका कुरा छन् । कसरी नेपालको अर्थतन्त्रले बेलायतबाट बढीभन्दा बढी र छिटो लाभ लिन सक्छ भन्ने कुरा पनि त्यसमा समावेश छ । हाम्रो सांस्कृतिक, सामाजिक डिप्लोमेसीका कुरा पनि छन् ।’
बेलायत र आइरिस डायष्पोरामा नेपालीको उपस्थिति बलियो भइसकेको उल्लेख गर्दै उनले नेपाल र नेपालीको हितका लागि उनीहरुको उपस्थितिका आधारमा ‘सफ्ट पावर’ उपयोग गर्नुपर्नेमा पनि जोड दिए ।
छिमेकी मुलुक भारत, बंगलादेश जस्ता मुलुकको डायष्पोराले आफ्नो देशको अर्थतन्त्र मजवुत बनाउन, आफ्नो मुलुक र आफ्नो समाजलाई केही न केही योगदान गर्न काम गरेका स्मरण गर्दै राजदूत घिमिरेले नेपाली डायष्पोराले पनि निकै मिहेनतका साथ आर्जन गरेको ज्ञान, सीप र प्रविधि नेपाल र नेपालीको हितमा लगाउनु पर्ने बताए ।
‘शैक्षिक, अनुसन्धनात्मक विषय पनि छन् । यहांका प्रतिष्ठित तत्सम्बन्धि प्रतिष्ठान र निकायहरुसंग नेपालका त्यो क्षेत्रमा काम गर्ने संस्थाहरुसंग सहकार्य गर्ने विषयहरु छन् । त्यसलाई मेरो कार्ययोजनामा समेटेको छु । संगसंगै गोर्खा समुदायका समस्या समाधान गर्ने कार्ययोजनामा छन् । यी यावत कुराहरुका रोडम्याप लिएर हामी त्यसलाई कार्यान्वयनमा लाने गरि अठोटका साथ अगाडि बढेका छौं’, राजदूतले सुनाए ।
नेपाल अहिले राजनीतिक रुपमा स्थिर मुलुक भएको बताउंदै राजदूत घिमिरेले आगामी दिनमा हामीले छिटोभन्दा छिटो तीव्रतर आर्थिक प्रगति र आर्थिक वृद्धिदर हासिल गर्नु पर्ने बताए । ‘त्यसको लाभ ग्रासरुटसम्म हामीले पुरयाउनु पर्नेछ । लगानीका विषयमा हामीले धेरै काम गर्नु पर्नेछ । अन्तर्राष्ट्रिय व्यापारका क्षेत्रमा हामीले लाभ लिनुपर्नेछ । नेपाल विश्वकै एउटा आकर्षण पर्यटकीय गन्तव्य भएकाले त्यसबाट हामीले बढी भन्दा बढी लाभ लिनु पर्नेछ । धेरै क्षेत्रबाट लाभ लिनु पर्ने भएकाले हामी सबै कुरामा तयार छौं’, उनले भने।
संसारमा कुनै पनि ठूला भन्दा ठूला समस्याको समाधान अन्तत वार्ताबाटै भएको उल्लेख गर्दै उनले भूतपूर्व गोर्खा मुद्दा पनि वार्तामात्रै समाधान गर्न आफ्नो पहल निरन्तर रहने अठोट व्यक्त गरे । उनले त्यसका लागि गृहकार्य र उपयुक्त समयको पर्खाइमा काम गर्नुपर्नेमा समेत जोड दिए ।
वार्ता एक पक्षीय होइन्, दुई पक्षीय भएकाले बेलायत र नेपाल दुवै पक्षको समझदारीमा वार्ता अगाडि बढ्ने विश्वास उनले दिलाए । ‘डिप्लोमेसी भनेको गेम अफ इन्गेजमेन्ट हो । जति धेरै इन्गेज हुन सक्यौं हामी समाधानको त्यति नजिक पुग्न सक्छौं । यो इन्गेजमेन्टबाट हामी लजिकल कन्क्लुजनमा पुग्न सक्छौं । दुई देशबीचको ऐतिहासिक सम्बन्धको संवेदनशीलतालाई पनि अक्षुण राख्दै, थप संवर्धन गर्दै हामीले यसको समाधान खोज्नु पर्ने हुन्छ’- भूतपूर्व गोर्खा मुद्दामा राजदूत घिमिरेले भने- ‘विगतका महामहिमज्यूहरुले पनि यसमा प्रयास गर्नु भएको छ। वार्ताको विकासक्रम जहांसम्म पुगेको छ, त्यसलाई अगाडि बढाएर लजिकल कन्क्लुजनमा कुनै न कुनै दिन पुग्न सकिनेमा विश्वस्त छु । वार्ताबाट कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । वार्तालाई नै सबैभन्दा महत्व दिएर अगाडि बढ्नु पर्छ ।’
बेलायतको नेपाली समुदायसंग आगामी दिनमा निरन्तर रुपमा जोडिने उनले बताए । ‘तथापि महत्वपूर्ण कूटनीतिक जिम्मेवारी निर्वाह गर्ने क्रममा सधैं यहांहरु समक्ष उपस्थित हुने प्रयास असफल हुन पनि सक्छ । तर तपाईंहरुले सामाजिक, सांस्कृतिक, आर्थिक जुन गतिविधि गरिरहनु भएको छ, त्यसको सफलताका लागि हामी हाम्रो तर्फबाट अभिभावत्व र हौसला प्रदान गरिरहने छौं’, राजदूत घिमिरेले भने ।
हेर्नुहोस् राजदूत घिमिरेसंग नेपालीलिंकको एक्सक्लुसिभ संवादः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५