कांग्रेस वरिष्ठ नेता डा. कोइरालाले भेटे बेलायतका पूर्व विदेशमन्त्री
लन्डन । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटघाट गरेका छन् ।
भेटमा नेताद्वयबीच नेपाल-बेलायत सम्बन्ध र आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको कोइरालाको सचिवालयले जनाएको छ । कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति पहल गरिदिन आग्रह गरेका थिए ।
साथै कोइरालाले हाउस अफ कमन्समा बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग पनि भेटघाट गरेका छन् ।
भेटमा कोइराला र डकिनबीच नेपालको मानवअधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको थियो ।
झन्डै एक साताको बेलायत भ्रमणका क्रममा कोइरालाले यस अघि सत्तारुढ लेबर पार्टीकी सांसद एवं ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरसहित अन्य मन्त्री तथा सांसदहरुसँग भेटवार्ता गरेका थिए ।