बिहीबार, माघ ३, २०८१
11:05 | १६:५०

बेलायती संसदमा उठ्यो नेपालको जलवायु परिवर्तन सम्बन्धि मुद्दा

नेपाली लिङ्क जनवरी १६, २०२५

लन्डन– बेलायती संसद हाउस अफ कमन्समा नेपालको जलवायु परिवर्तन असर सम्बन्धि विषय उठान भएको छ ।

सत्तारुढ लेबर पार्टीकी सांसद एलेक्स बेकरले मंगलबार संसदमा उक्त मुद्दा उठाएकी हुन् । 

बेकरले प्रश्न गरिन्, ‘नेपाल जलवायु परिवर्तनसँग लड्ने अन्तिम चरणमा छ । गत वर्षको अन्त्यतिर हामीले काठमाडौंमा बाढीबाट दुई सय जनाको मृत्यु भएको देख्यौं। धेरै वर्षदेखि बेलायतको साझेदार र मित्र बनेको यो राष्ट्रलाई सहयोग गर्न बेलायत सरकारले के गरिरहेको छ ?’

सांसद बेकर भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसट, फार्नबरो जस्ता क्षेत्रलाई प्रतिनिधित्व गर्ने ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष पनि हुन् ।

बेकरको उक्त प्रश्नको जवाफमा ब्रिटिश विदेशमन्त्री डेभिड ल्यामीले जलवायु परिवर्तनका असरहरुसंग जुध्न ब्रिटिश सरकारले नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।

विदेशमन्त्री ल्यामीले बेलायत सरकारले नेपाललाई जलवायु परिवर्तनका असरसंग जुध्न तीन करोड ८५ लाख पाउण्ड (झन्डै साढे ६ अरब रुपिया) सहयोग गरेको बताए । 

त्यस्तै उनले नेपालमा जलवायु परिवर्तनका असर कम गरी विकास कार्यक्रम सञ्चालन गर्न आगामी आठ वर्षका लागि ५ करोड ८० लाख पाउण्ड (झन्डै १० अर्ब रुपियाँ) सहायता दिने निर्णय भइसकेको पनि जनाए ।  

विदेशमन्त्री ल्यामीले जलवायु परिवर्तनको मुद्दामा नेपालसंग बेलायतको सम्बन्ध महत्वपूर्ण रहेको पनि बताए । 

सांसद बेकरले एक दिन अघि सोमबार लन्डनस्थित नेपाली दूतावासमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कार्यवाहक राजदूत विपिन दुवाडी लगायतसंग भेटवार्ता गरेकी थिइन् । 

‘हामीले निमन्त्रणा गरेपछि एलेक्स दूतावासमा आइन् । उक्त भेटमा सांसद बेकरसमक्ष जलवायु परिवर्तन, भूतपूर्व गोर्खा जस्ता संवेदनशील विषय संसदमा पुरयाइदिन आग्रह गरेका थियौं’, दुवाडीले भने । 

उनीसंग अर्को भेट छिट्टै हुने र बांकी मुद्दामा समेत छलफल गरिने दुवाडीले बताए । 

नयाँ लेबर सरकार गठन भएपछि गत वर्ष अगष्ट महिनामा बेलायतले नेपाललाई ‘रिजिलियन्स, एडेप्टेशन तथा इन्क्लुजन’ (रेन) कार्यक्रमका लागि तीन करोड ८५ लाख पाउण्ड सहयोग गर्ने घोषणा गरेको थियो ।  

यसअघि तत्कालिन प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारको पालामा झन्डै १० अर्ब रुपियाँ नेपाललाई सहयोग गर्ने घोषणा गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू