बुधबार, माघ २, २०८१
07:10 | १२:५५

एनआरएनए महासचिव जोशी भन्छन्- नागरिकता लिएपछि पनि भिसा खोज्नु गलत

नेपाली लिङ्क जनवरी १४, २०२५

एनआरएनए महासचिव गौरीराज जोशी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीले नेपाल सरकारले गैरआवासीय नेपालीको संविधानप्रदत्त अधिकार खोसेको आरोप लगाएका छन्।

नेपाल सरकारले विदेशमा बस्ने गैरआवसीय नेपाली नागरिकताप्राप्त व्यक्तिलाई एकपटकमा दश वर्षसम्मको बहुप्रवेशी गैरआवासीय भिसा निःशुल्क प्रदान गर्ने गरी गरेको व्यवस्था संविधानको मर्मविपरित भएको टिप्पणी जोशीको छ।

गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपाल आवत–जावत गर्दा भिसा लिनुपर्ने व्यवस्था नै गलत भएको दाबी महासचिव जोशीले गरेका छन्।

जोशीले आफूहरूको लबिङ ‘एक पटकको नेपाली सधैँको नेपाली’ नै रहेको स्पष्ट पार्दै सरकारले १० वर्षका लागि निःशुल्क भिसा गर्ने भन्ने प्रावधान ल्याउनु गैरआवासीय नेपालीको चाहनाविपरीत भएको बताए।

त्यस्तै, उनले लगानीमा पनि विभेदपूर्ण नीति लिइएको आरोप लगाएका छन्। ‘विशेष गरी घरजग्गाको लगानी नीतिले नेपाल सरकार तथा राजनैतिक पार्टीहरू गैरआवासीय नेपालीहरूप्रति कति अनुदार छन् भन्ने स्पष्ट पारेको छ’, जोशीले भनेका छन्।

जोशीले यि विधेकहरू परिमार्जन गर्न सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई एक ठाउँमा उभिएर दबाब सिर्जना गर्न आव्हान समेत गरेका छन् ।

नेपालको संविधान २०७२ अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो।

गैरआवासीय नेपाली नागरिकता वाहकले पनि भिसा लिनुपर्ने विरोधाभाषपूर्ण व्यवस्था रहेको भन्दै आलोचना भइरहेको बेला सरकारले अध्यादेशमार्फत १० वर्षे भिसाको व्यवस्था गरेको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू