बुधबार, माघ २, २०८१
04:54 | १०:३९

ब्रिटिश संसदको पोर्टकुलिस हाउसमा नेपाल-बेलायत सम्बन्धको चर्चा

नेपाली लिङ्क जनवरी १४, २०२५

 

लन्डन – दुईजना ब्रिटिश मन्त्रीले नेपालको विकासमा बेलायतको सहयोग निरन्तर रहनुका साथै ब्रिटिश प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन प्रयास गर्ने जनाएका छन्।

वेस्टमिन्स्टरस्थित ब्रिटिश संसदको पोर्टकुलिस हाउसमा सोमबार बेलुका आयोजित ‘नेपाल बेलायत सम्बन्ध’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतको दक्षिण एसिया मामिला हेर्ने सहायक परराष्ट्र मन्त्री क्याथरिन वेष्टले ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने उपयुक्त समय आएको बताइन्। 

उनले प्रधानमन्त्री कियर स्टारमारलाई स्वागत गर्न नेपाल इच्छुक रहेको कुरा आफूले पुर्‍याइदिने वाचा गरिन्। उनले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नु परिरहेको चुनौतीबारे बेलायत जानकार रहेको बताउंदै नेपालका महत्वपूर्ण सम्पदा सुरक्षित गर्न अन्तरराष्ट्रिय समुदायसंगको सहकार्यमा नेपाललाई मद्दत गरिरहेको बताइन्। 

उनले स्वच्छ हावा र सफा पानी पिउन पाउनु सबै जनताको अधिकार हो भन्दै वातावरण संरक्षणमा दुवै मुलुक प्रतिबद्ध रहेको पनि बताइन्।

बेलायतको व्यापार तथा व्यवसाय मन्त्रालयका सहायक मन्त्री गरेथ टमसले दुई देशबीचको ऐतिहसिक सम्बन्ध सुद्रिढ गर्न गोर्खा सैनिकहरुको योगदानको प्रशंसा गरे। 

उनले बेलायतमा बसिरहेका नेपालीहरुले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा, केयर लगायत विभिन्न क्षेत्रमा योगदान गरि रहेको भन्दै प्रशंसा गरे। उनले नेपाल तथा बेलायतबीच सिधा उडान सम्पर्क कायम गर्न सक्दो पहल गर्ने आश्वासन दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आजका दिनमा जनस्तरको सहकार्यले बढाउँदै लगेको बताए ।

‘नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार हो’- उनले भने ‘दुवै देशमा जेजस्ता परिवर्तन भएपनि हाम्रो दुई देशका बीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ बन्दै गयो । दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्‌नो अमुल्य जीवन पनि गुमाए । बेलायत सरकारले उनीहरुको समर्पण र वलिदानको कदर गरी सम्मान गरेकोमा म खुशी छु ।’ 

सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा विधिवत् विश्वसामु चिनाएको उनको भनाइ थियो । 

बेलायत नेपालको आर्थिक सामाजिक रुपान्तरणको अभियानमा महत्वूर्ण सहयोगी रहेको बताउँदै उनले नेपालको जलविद्युत, पर्यटन, कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्ने उल्लेख गरे । 

नेपाल सरकारले बैदेशिक लगानी मैत्री वातावरण बनाएको जनाउंदै उनले नेपालमा बेलायती लगानी राम्रो भएपनि अझ यसमा धेरै वृद्धि गर्न सकिने उनको धारणा थियो । 

उनले गोर्खा सैनिकहरुले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवा समेतलाई मध्यनजर गर्दै उनीहरुका जायज माग ढिला नगरी सम्बोधन गरिदिन पनि आग्रह गरे । 

दुईसय भन्दा बढी समयको अवधिमा कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको उल्लेख गर्दै उनले प्रगाढ सम्बन्ध भएका दुई देशका लागि बेलायती प्रधानमन्त्रीको यो बहुप्रतिक्षित भ्रमणले फलदायी सन्देश दिने उनको विश्वास थियो । 


बेलायतको लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा सूर्य सुवेदीले सन् १९२३ मा नेपाल तथा बेलायत बीच सम्पन्न शान्ति तथा मैत्री सन्धिले नेपालको स्वतन्त्रता र सार्वभौम सत्ता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले भारत वा पाकिस्तान भन्दा पहिले नै नेपालले लन्डनमा आफ्नो कूटनीतिक नियोग स्थापना गरेको स्मरण गर्दै २०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपालमा लोकतन्त्रले राम्रोसंग काम गरिरहेको र राजनीतिक स्थायित्व आएको जनाए।

सुवेदीले नेपालमा गरिने लगानीलाई नेपाली तथा अन्तरराष्ट्रिय कानूनले पनि सुरक्षा गर्ने बताउंदै नेपालमा ब्रिटिश लगानी बढाउन अपिल गरे। उनले ब्रिटिश सरकारलाई नेपालमा ठूला पूर्वाधार आयोजनामा सघाउन आग्रह गर्दै नेपालमा लगानीका लागि एउटा ‘फ्रेमवर्क’ स्थापना गर्न पनि सुझाव दिए। 

प्रा सुवेदीले सन् १९९७ भन्दा पहिले ब्रिटिश सेनाबाट सेवा निवृत्त गोर्खा सैनिकहरुले समान हक पाउने गरी उनीहरुका माग सम्बोधन गर्न पनि अनुरोध गरे।

कार्यक्रममा एनआरएन अभियन्ता राजकुमार त्रिपाठीले विषय प्रवेश गरेका थिए भने दुवै मन्त्रीलाई उपहार दिइएको थियो। सो कार्यक्रम संयोजनमा रमेश सराङकोटीले विशेष भूमिका निर्वाह गरेका थिए ।  

अन्तरक्रियामा भाग लिन बेलायतस्थित नेपाली समाजका अगुवाहरु भेला भएका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू