एनआरएनएका युवा र एसिया प्रशान्त क्षेत्रीय सम्मेलन दुई अलग देशमा
काठमाडौं । गैर आवासीय नेपाली संघले दोस्रो अन्तर्राष्ट्रिय युवा–पिएनओज् सम्मेलन आउंदो १५ देखि १६ मार्चका दिन थाइल्याण्डको बैंककमा गर्ने भएको छ । साथै, एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘संगम’ आउंदो १८ र १९ मार्चमा कम्बोडियामा हुने भएको छ ।
संघले आइतबार एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।
नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको संघले जनाएको छ ।
सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज्, र नेपालका स्थानीय युवाबीच मजवुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।
सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका इन्चार्ज तथा उपाध्यक्ष रामशरण सिम्खडाको निर्देशाकत्वमा तयारी तीव्र रुपमा अघि बढाइएको छ ।
सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजवुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुरयाउने, युवा बेरोजगारी, सीप विकास र सुरक्षित आप्रवासन जस्ता महत्वपूर्ण समस्या समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुरयाउने अपेक्षा छ ।
उता, १८–१९ मार्च २०२५ मा कम्बोडियाको नोम पेन सिटीमा १० औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन गर्ने तयारी छ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘संगम’ नामाकरण गरेको छ ।
उक्त अवसरमा समृद्ध राष्ट्रका लागि गैरआवासीय नेपालीको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण एवं लैगिंक समानता साथै गैरआवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आवद्धता, प्रवासबाट मताधिकार जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र उक्त महादेशभित्रका विभिन्न एनसीसीहरुको सिकाई, अनुभव र आपसी सहकार्यका विषयहरुको पहिचान गर्दै अघि बढ्न सहयोग मिल्ने गरी कार्यक्रम तय गरिएको संघले जनाएको छ ।
दुवै सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि, एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, युरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपूर्वका देशहरुबाट समेत गरि करिब ३०० प्रतिनिधिको सहभागिता रहने अपेक्षा छ ।