सोमबार, पुष २९, २०८१
03:19 | ०९:०४

संस्था स्थापनाको १६ वर्षमा नेफिन यूकेको आफ्नै कार्यालय

नेपाली लिङ्क जनवरी १२, २०२५


लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आफ्नो कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

जातीय संस्थाका अध्यक्षहरु, केन्द्रीय कार्यसमिति र सल्लाहकारहरुको रोहबरमा कार्यालयको उद्घाटन गरिएको हो ।

नेपालीहरुको बाक्लो बस्ती रहेको सहर अल्डरसटको मुख्य बजारमा रहेको ४३ युनियन स्ट्रीटको दोस्रो तल्लामा रहने गरि नेफिनको नयाँ कार्यालय संचालनमा ल्याइएको हो । 

प्रति महिना एक हजार पाउण्ड भाडा लाग्ने सो कार्यालय रिटायर्ड मेजर इन्द्र प्रसा राईले नेफिन यूकेलाई निशुल्क प्रदान गरेका हुन् । संस्था स्थापनाको १६ वर्षमा नेफिन यूकेले पहिलोपटक आफ्नो कार्यालय स्थापना गरेको हो । नेफिन यूकेमा हालसम्म १४ वटा जातीय संस्था आवद्ध छन् ।

संस्थाले आफ्नो पाँचौँ नियमित बैठक पनि सोही अवसरमा सम्पन्न गर्‍यो । बैठकमा छलफल भई निर्णय भएका एजेन्डाहरुमा सम्पूर्ण आवद्ध जातीय संस्थाहरुबाट अबको कार्यकालका लागि संघीय परिषद् सदस्यहरुको नामावली आह्वान गर्ने, बैङ्क खातामा समस्या भएकाले च्यारिटी संस्थाको रुपमा अथवा सीआइसीमा जाने अर्थात नजाने बारेमा अध्यक्ष रिटायर्ड मेजर योगेश कोयी राईलाई जिम्मा दिइएको छ । साथै बैठकले २०२५ वर्षभरिका कार्ययोजना पनि तय गरेको छ ।

सोही अनुसार २४ मे मा एम्पार हलमा बृहत च्यारिटी डिनर कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी नेफिन यूकेका सचिव रिटायर्ड मेजर इन्द्र प्रसाद राईलाई दिइएको छ । त्यसैगरि महासंघले पहिलोपटक अगस्त ९ र १०, सन् २०२५ मा आदिवासी दिवसको अवसरमा बृहत आदिवासी मेला आयोजना गर्ने पनि निर्णय गरेको छ । 

अदिवासी दिवसको संयोजक उपाध्यक्ष विमला राईले गर्ने निर्णय गरिएको छ । आदिवासी मेला किरात हाउस गेम्बल्स लेनमा हुने छ । मेलामा कार्रबूट सेल, भलिबल प्रतियोगिता, सांगीतिक कार्यक्रम लगायत हुनेछ ।

कार्यक्रममा नेपालबाट हरेक जातीय संस्थाहरुले आ–आफ्नो समुदायबाट कलाकार ल्याउने पनि बैठकको निर्णयमा उल्लेख छ ।

जनजातिहरुको आस्थाको धरोहर मुकुम्लुङमा (पाथिभरा देवी) भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउंदै प्रेस विज्ञप्ति जारी गर्ने र सो विज्ञप्ती नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाउने पनि बैठकले निर्णय गरेको छ ।

साथै मुकुम्लुङ आन्दोलनलाई सहयोग गर्न आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा किरात राई यायोक्खा यूकेकी अध्यक्ष आशा राई र चुम्लुङ यूकेकी अध्यक्ष कमला लिम्बूले उठाएका सवाललाई मध्यनजर गर्नै जातीय संस्थाहरुमा महासंघको औचित्यबारे अझै पनि सबै सदस्यहरुले नबुझिरहेको अवस्था चिर्न महासंघले जातीय संस्थाहरुसँग अन्तरक्रिया गर्ने बताइएको छ ।

यसका लागि पहिले किरात याक्थुङ चुम्लुङसँग महासंघका नेतृत्वले अन्तरक्रिया गर्ने छ । यसको सहजीकरण पहिला चुम्लुङले गर्ने अध्यक्ष कमला लिम्बूले प्रतिवद्धता व्यक्त गरिन् ।


कार्यक्रममा केवाइसी यूकेका नवनिर्वाचित महिला प्रथम अध्यक्ष कमला लिम्बूलाई स्वागत सम्मान गरिएको थियो । त्यसैगरि किरात यायोक्खाका दोस्रो महिला अध्यक्ष आशा राईलाई पनि नेफिन यूकेले सम्मान गरेको थियो ।

शान्ति समाज नेपाल स्रस्टा सम्मान पुरस्कारबाट सम्मानित पूर्व वरिष्ठ उपाध्यक्ष लीला सेलिङ माबोलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो भने पत्रकार महासंघ यूकेकी पहिलो महिला अध्यक्ष विमला सेनेलाई पनि सम्मान गरिएको थियो ।

अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राईको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन महासचिव फारमबहादुर दूराले गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कर्म पहाडी शेर्पा, जनजाति अभियन्ता तथा सल्लाहकार भक्तबहादुर दुरा, महिला महासंघ यूकेकी सचिव मनिकला राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू