आइतबार, पुष २८, २०८१
04:17 | १०:०२

बेलायतका नेपाली चिकित्सकहरुसंग डा. कोइरालाले गरे अन्तरक्रिया

नेपाली लिङ्क जनवरी ११, २०२५

लन्डन । हाल बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता सांसद प्रा. डा शेखर कोइरालाले बेलायतको लन्डन, क्याम्ब्रिज र नर्वीचका विश्वविद्यालय प्रतिनिधित्व गर्ने नेपाली विद्वानहरूलाई सम्बोधन गरेका छन् ।

शनिबार नेपलिज डक्टर्स एसोसिएसन यूकेले नर्वीचमा गरेको कार्यक्रममा प्रमुख वक्ता थिए डा. कोइराला ।

उक्त कार्यक्रममा लन्डन, क्याम्ब्रिज र नर्वीचका शिक्षाविद्, डाक्टर, इन्जिनियर एवं अन्वेषकहरुसहित करिब ५० विद्वान सहभागी थिए ।

नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) का पूर्व अध्यक्ष डा. कमलराज अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा वक्ताहरु डा सरस्वती दवाडी (अनुसन्धान फेलो), डा पृथ्वी नारायण श्रेष्ठ, (एसोसिएट प्रोफेसर, अंग्रेजी भाषा र व्यावहारिक भाषाविज्ञान) र ओपन युनिभर्सिटी, मिल्टन केन्स् यूकेका अनुसन्धान एसोसिएट डा. सगुन श्रेष्ठले डिजिटल शिक्षाबारे आआफ्नो धारणा राखे ।

त्यसैगरि, भिजन एण्ड आइ रिसर्च इन्सटिच्यूट, स्कुल अफ मेडिसिन, क्याम्ब्रिजका सिनियर रिसर्च फेलो डा राजु सापकोटाले नेपालमा अप्टोमेट्रीमा गरिरहेको कामबारे बताए ।

एनडीए यूके महासचिव तथा लन्डनस्थित जिपी चिकित्सक डा आरती हमालले सन् १९८५ मा स्थापना भएको एनडीए यूके संस्थाले नेपाललाई प्राकृतिक प्रकोपका बेला र ग्रामीण तथा दुर्गम स्वास्थ्यमा सहयोग र विभिन्न संस्थाबीच सहकार्य गर्दै आएको बताइन् ।

नर्वीच बस्ने फर्मासिस्ट डा अष्ट आर प्रजापति (पीएचडी) ले नेपालसंगको अनुसन्धान सहकार्यबारे जानकारी दिए भने एनडीए यूकेका कोषाध्यक्ष एवं किंग्स कलेज लन्डनका वरिष्ठ न्यूरोसर्जरी रजिस्ट्रार डा प्रज्वल घिमिरेले संस्थाको सहयोगात्मक कार्यबारे बताए।

कार्यक्रममा युनिभर्सिटी अफ इष्ट एङ्लियाका सह-प्राध्यापक एवं नेपलिज डक्टर्स एसोसिएसन यूके पूर्व अध्यक्ष डा कमल अर्यालले नेपालमा भूकम्प गएका बेला गोरखा र धादिङमा २ वटा विद्यालय पुनर्निर्माण र त्यसपछि एउटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना, बेलायतमा आफ्नो परोपकारी कोष सङ्कलन र तालिम दिएको कामबारे जानकारी दिए ।

डा. अर्यालले विगत १० वर्षमा २५० नेपाली सर्जनलाई कि होल सर्जरी र विरामीको सुरक्षाबारे तालिम दिइसकेको जनाए । उनले हालैमात्र जुम्ला मिसन अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिएको तालिमबारे पनि अवगत गराएका थिए ।

डा. अर्यालले रोयल कलेज अफ सर्जन अफ एडिनबर्ग, नेपाली दूतावास, नेपाल सरकार, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेल्थ एक्सचेन्ज नेपाल, नेपाल चिकित्सक संघ र डाभोस कोर्सलाई संलग्न गराएर त्यो मिसन सम्भव भएको बताए । उक्त मिसनमा बेलायत, स्विट्जरल्याण्ड र मलेसियाका धेरै व्यक्ति संलग्न थिए ।

बरी सेन्ट एडमन्ड्समा क्यान्सर सेवा नेतृत्व गरेका शिक्षण अस्पताल फिजियोलोजी विभागका पूर्व प्राध्यापक प्रा. सम्पूर्ण नन्द ढुंगानाले नेपालप्रतिको माया र प्रवासी नेपालीहरूले गरेको योगदानबारे बताए ।

लन्डनका वरिष्ठ इन्जिनियर आरके त्रिपाठीले एनडीए यूकेसँगको आफ्नो निकटता र नेपाल फर्कने पेशाकर्मीलाई कसरी मद्दत गर्न सकिन्छ भन्नेबारे उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथी सांसद डा. शेखर कोइरालाले मेडिकल स्कुलदेखि चिकित्सकसम्मको आफ्नो यात्रा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाबारे बताए ।

डा. कोइरालाले ठूला र शहर केन्द्रित अस्पतालहरु भन्दा साना र ग्रामीण-दुर्गम क्षेत्रमा स्वास्थ्य र शिक्षाको स्तर उकास्न नेपाली पेशाकर्मीहरूलाई सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सो अवसरमा एनडीए यूकेले नेपालमा स्वास्थ्य सेवामा पुर्‍याएको योगदानका लागि डा. कोइरालालाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू