आइतबार, फागुन ११, २०८१
15:16 | २१:०१

बीसीसी यूकेले धार्मिक पूजापाठसहित मनायो ल्होछार

नेपाली लिङ्क जनवरी ६, २०२५

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाएको छ । गत ३० डिसेम्बर सोमबार अर्थात् २०८१ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार मनाइएको हो । 

नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा दीप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ, छोग, घनचक्र पूजा गरियो । 

कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङले तमुहरुको मौलिक पर्व ल्होछारको अवसरमा सबै प्राणी जगतमा सुख, शान्ति, समृद्धि, दीर्घायू एवं सुस्वास्थ्यको कामनासहित शुभकामना दिंदै सबैलाई स्वागत गरे । 

त्यस्तै, आमान्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग, बीसीसी यूकेका खेन्पो शेनाङ, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुहरुले विभिन्न धार्मिक पूजापाठ गरे । गुप्ती लामा गुरुले ल्होछारबारे धार्मिक प्रवचन दिएका थिए भने तमुधिं यूके नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले ल्होछारको शुभकामना दिए ।  

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यसवर्ष गीद्ध वर्गलाई विदाई गर्दै सर्प वर्गलाई स्वागत गरिएको हो । 


सो अवसरमा बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङ, तमूधिं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, पूर्व अध्यक्षहरु हित काजी गुरुङ, ज्ञाम गुरुङ, रामचन्द्र सुर्जे गुरुङ, हरि गुरुङ, तमु फोरम यूके अध्यक्ष क्या. राजु गुरुङलगायत आमाहरु, सल्लाहकारहरुको विशेष उपस्थितिमा गुम्बा परिसरभित्र नयाँ लुंदा फेर्ने कार्यक्रम भएको थियो । 

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, शेर्पा एशोसिएशन यूकेका अध्यक्ष रिन्जी शेर्पा, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूके अध्यक्ष बिक्रम भट्टराई, मगर संघ यूके प्रतिनिधि, सीसी लण्डन ब्रान्चका अध्यक्ष गोपाल तामाङ, बीसीसी यूके ट्रष्टी मेम्बर्सलगायत करिब १००० जनाको उपस्थिति रहेको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देव घलेले जानकारी दिए ।  

उक्त कार्यक्रम सफल बनाउन बीसीसी यूकेको सिंगो कार्यसमिति, आमाहरु, सल्लाहकारहरु साथै ट्रष्टी मेम्बर्सहरुले विशेष भूमिका खेलेका थिए । विभिन्न सहभागी भक्तजनहरुले भोजनदान, जिन्सी दान तथा दीप प्रज्ज्वलन गरेका थिए । 


बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक घलेले सहभागी सबैमा धन्यवाद ज्ञापन गरे भने महासचिव मेजर हितमान गुरुङले कार्यक्रम संचालन गरेका थिए । 

स्मरण रहोस्, बीसीसी यूकेले तमु ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायत कार्यक्रमहरुमा विशेष पूजापाठ गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू