आइतबार, मंसिर ९, २०८१
09:04 | १४:४९

सिमरामा एटिआर–७२ जहाजको उडान हुने

रासस अगस्ट ७, २०२०

काठमाडौं । राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ ।

निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरा विमानस्थलमा एटीआर जहाजको सफल परीक्षण उडान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर गत बुधबार बुद्धएयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गर्दै जहाजको परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीचक्राफ्ट १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेका थिए ।

नेपालमा बन्दाबन्दी शुरु (गत चैत ११ गते) हुनुअघि दैनिक  नौ वटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्धले आगामी भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआरले उडान भर्ने योजना बनाएको छ ।

नेपालकै सबैभन्दा पुरानो र व्यस्त सिमरा विमानस्थलको लम्बाइ एक हजार १९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौँ छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैँ भीडभाड हुने गर्दछ ।

बुद्धएयरसँग आठ एटीआर–७२, तीन एटीआर–४२ र दुई बीचक्राफ्ट १९०० ‘डी’ गरी १३ जहाज छन् । भदौ १ बाट हुने व्यावसायिक उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको छ ।

यात्रुको दोहोरो तापक्रम जाँच, ह्याण्ड स्यानेटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज र लगेज ट्रलीको संक्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख  छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू