मंगलबार, पुष २३, २०८१
08:49 | १४:३४

एमसीसीबाट नेपाललाई ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता

रासस जनवरी ३, २०२५

काठमाडौँ, पुस १९, २०८१ अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।

अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबर रुपैयाँको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले आज जनाएको छ ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर स्वीकृत गरेको छ । बोर्डको यो निर्णयले रूपान्तरणकारी, उच्च गुणस्तरीय पूर्वाधार परियोजनाहरूमार्फत नेपालको विकास प्राथमिकता कार्यान्वयन गर्ने एमसीसी र नेपाल सरकारबीचको साझा प्रतिबद्धतामा जोड दिएको छ,’ एमसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

यो अतिरिक्त सहायता रकमबाट नेपालको विद्युत् प्रसारणलाई सुदृढ गर्न, दीर्घकालीन आर्थिक वृद्धिका साथै ‘कम्प्याक्ट’को सफलता सुनिश्चित गर्न योगदान पुग्ने विश्वास एमसीसी कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसीसी परियोजनाअन्तर्गत चार सय केभीको डबल सर्किट तीन सय १५ किलोमिटर विद्युत् प्रसारण लाइन बन्नेछ । काठमाडौंको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू