आइतबार, पुष २१, २०८१
15:13 | २०:५८

एनआरएनए पदाधिकारीले बेलायती राजदूतसँग उठाए पूर्व गोर्खा र विद्यार्थीका समस्या

नेपाली लिङ्क डिसेम्बर ३१, २०२४


काठमाडौं-गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग सोमबार भेटघाट गरेको छ ।

उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा महत्वपूर्ण अन्तरक्रिया भएको संघले जनाएको छ ।  

उक्त अवसरमा संघका अध्यक्ष केसीले नेपाली डायस्पोराले नेपालको जिडिपीमा पुर्‍याइरहेको योगदान लगायत लगानी, शिक्षा, स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोभिड महामारीका बेला नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराए । 

नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको अध्यक्ष डा केसीले उल्लेख गरे ।

उपाध्यक्ष डा. बिनोद श्रेष्ठले अष्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहल सम्बन्धमा जानकारी गराए । यस्तै महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका बिट्रिश गोर्खाको मुद्दा स्मरण गराउँदै नेपाल र बेलायत सरकारको उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

उनले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराएकी थिइन् । उक्त अवसरमा नेपाल फेस्टिवल, दोस्रो पुस्ताको डायस्पोरा लगायतका विषयमा पनि छलफल भएको थियो ।

भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरहरूलाई जोड दिँदै नेपाल र बेलायतबीच सहकार्यलाई अझ प्रगाढ बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले यथेष्ट लगानी नेपालमा भित्रन नसक्नुको कारणबारे खोजी गरी उल्लेख्य लगानी भित्र्याउन जोड दिनुपर्ने बताए । 

उनले शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने विश्वास पनि व्यक्त गरे । 

उक्त भेटमा संघका सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमल्सिना  र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको समेत उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू