आइतबार, पुष २१, २०८१
08:42 | १४:२७

६६ वर्षीय दाहालले एक वर्षमा बेलायतमा पूरा गरे १०० वटा हाफ म्याराथन

नेपाली लिङ्क डिसेम्बर ३१, २०२४

लन्डन । सामाजिक संजालमा ‘अडियो कि सडियो’ भन्दै निरन्तर दौड र योगका फोटो राखेर समुदायलाई निरोगी र स्वस्थ रहन प्रेरित गर्ने आत्माराम दाहाल उमेरले ६६ टेके । तर पनि उनी एकजना स्वस्थ ३५ वर्षका औसत धावकले दौडिने उमेर समूहमा दौडन सक्छन् ।

दाहालले सन् २०२४ भित्र बेलायतमा १०० पटक हाफ म्याराथन पूरा गरेका छन्। अफिसियल र सोलो गरि ति दौड पूरा गरेको दाहालले बताए । आइतबार दौडिएपछि आफ्नो १०० औं हाफ म्याराथन पूरा भएको उनले जनाए ।

‘शुरुमा एक वर्षमा ३० वटा गर्न सक्छु कि भन्ने थियो । पछि ५० हुँदै ८० वटा पुगेपछि त साथीहरुले पनि हौस्याए’- उनले भने- ‘बिरामी हुँदा दुई सातामा एउटामात्र पनि भयो । कहिले हप्तामा दुईवटा गरेँ । यो हप्ता त सातै दिन दौडिएँ ।’

सम्भवत उनको कीर्तिमान नेपालीमा पहिलो हुन सक्ने नेपाल रन यूकेका अध्यक्ष सन्तोष राईले बताए । ‘उहाँले अफिसियल र सोलो दौड्नु भएको हो । उहां आफूमात्र होइन, अहिले सम्पूर्ण समुदाय स्वस्थ रहनु पर्छ भनेर नेपाल रन यूके संस्थामार्फत निरन्तर सचेतना अभियानमा हुनुहुन्छ’- राईले भने ।

दाहालले हालसम्म ६ लण्डन म्याराथन र अन्य दुई गरि ८ म्याराथन एवं १५० बढी हाफ म्याराथन पुरा गरेको जनाए । उनले यस वर्ष आफ्नो छैटौ लन्डन म्याराथन ४ घन्टा १७ मिनेटमा पुरा गरेका थिए ।

उनले २००९ को गोर्खा ट्रेल वाकर १०० किमी च्यालेन्जबाट दौड सुरु गरेका थिए ।

भोजपुर राम प्रसाद गाविसमा जन्मिएर धरानमा हुर्किएका दाहाललाई बेलायतको एमओडी सिभिल सर्भेन्टमा जागिर पाए पछि भाग्यले बेलायततिर डोहोर्‍यायो।

कृष्णकान्त आचार्य ‘एमबीइ’ को प्रेरणाले दौड थालनी गरेको उनी बताउंछन् । दौड सुरु गर्नु अघि उनलाई ढाड, घुँडा, पाइल्सको समस्या थियो, निन्द्रा नलाग्ने थियो । उनले २००१ देखि मधुमेहको औषधि खान सुरु गरेका थिए ।

दौड पश्चात डाइबिटिजबाहेक अन्य स्वास्थ्य समस्या नरहेको उनी बताउंछन् । ‘दौडमार्फत मधुमेह पनि नियन्त्रणमा छ । दौडले मेरो सम्पूर्ण जीवन नै अनुशासित बनेझैं लाग्छ’- उनी भन्छन् ।

दाहालले क्याट्रिकमा आफ्नै पहलमा करिब ३ वर्ष पार्क रन संचालन गरेका थिए । उनले दौडमार्फत थुप्रै सामाजिक र मानवीय कार्य गरेका छन् ।

पतन्जली योगपिठबाट सन् २००९ मा योग प्रशिक्षकको उपाधि लिएका उनले हरेक आइतबार बिहान अनलाइन (जुम) मार्फत यूके समय बिहान ८ देखि ९:३० बजेसम्म निशुल्क योग प्रशिक्षण दिने गरेका छन् ।

नियमित रुपमा योग गर्दा प्रविधि र खानपानले अस्तव्यस्त जीवनमा सन्तुलन ल्याउन मद्दत गर्ने उनको भनाइ छ । ‘योगको मुख्य शक्ति भनेको नै शारीरिक र मानसिक रुपमा स्वस्थ भइ विवेक, चिन्तन मनन र सकारात्मक सोचको विकास हुने हुँदा यो पूर्वीय चिन्तनको अद्भुत उपहारबाट लाभ लिनुपर्छ’- उनी सुझाउंछन् ।

दौड र योगलाई दैनिक जीवनको अंग बनाउन सके हाल देखा परेका थुप्रै रोग र शारीरिक समस्याबाट मुक्ति मिल्ने दाहालको विश्वास छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू