लन्डनमा तमुधिं यूकेको रजत महोत्सव तथा ल्होछार भव्य (फोटो फिचर)


लन्डन । तमुधिं यूकेले संस्था स्थापनाको रजत महोत्सव तथा तमु ल्होछार उल्लासमय वातावरणमा मनाएको छ । लन्डन ह्यारोस्थित ह्यारो लिजर सेन्टरमा भव्य समारोहबीच संस्था स्थापनाको २५औं वर्षगाँठ तथा ल्होछार मनाइएको हो ।
सो अवसरमा १३ औं कार्यसमितिका नवनियुक्त अध्यक्ष जुमकाजी गुरुङले औपचारिक पदभार समेत ग्रहण गरे भने अवार्ड वितरण, गीत र स्मारिका लोकार्पण एवं विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरियो । कार्यक्रममा आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएका तमुहरुमात्र होइन्, गैर तमुहरु पनि रजत महोत्सव र ल्होछारको साक्षी बने ।
अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं कार्यवाहक राजदूत विपिन दुवाडीले तमुधिं यूके तमुहरुकोमात्र नभएर समस्त नेपालीको साझा संस्थाका रुपमा काम गरिरहेको थाहा पाउंदा खुशी लागेको बताए ।
आफू बेलायत आएको तीन महिनामात्र भएपनि तमुधिं यूकेका गतिविधिबारे जानकार रहेको र तमु कला संस्कृति, भेषभूषा, रहनसहन आदि संरक्षण संवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दुवाडीले उल्लेख गरे ।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा विशेष अतिथि तमुधिं नेपालका अध्यक्ष हुम गुरुङले नेपालमा तमुहरुको मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै तमुधिं बेलायतले भने संरक्षण गरिरहनु गर्वको कुरा भएको बताए ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले तमुधिं यूके एनआरएनए भन्दा पनि बलियो संस्थाको रूपमा स्थापित भएको जनाउंदै यसले गोर्खा कप, नेपाली मेला जस्ता इभेन्टमार्फत बेलायतका समस्त नेपालीहरुलाई जोड्न सफल भएको धारणा राखे ।
कार्यक्रममा तमुधिं जापानका उपाध्यक्ष अर्मन गुरुङ, तमु ट्होह्यूला हङकङका भूपू उपाध्यक्ष गणेश गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु प्येल्हू संघ यूकेका अध्यक्ष क्या. रि. डेमबहादुर गुरुङ, एनआरएनए यूके अध्यक्ष एवं पूर्व अध्यक्ष हितकाजी गुरुङले शुभकामना दिए ।
कार्यक्रममा जिसीएससीमा उत्कृष्ट अंक ल्याउने लमजुङ पुख्र्यौली घर भई हाल बेलायत बस्ने अम्बिका गुरुङलाई यस वर्षको डा. हर्क गुरुङ अवार्ड प्रदान गरियो । प्रमुख अतिथि कार्यवहाक राजदूत दुवाडी र संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र ५ सय पाउन्डसहित उक्त अवार्ड प्रदान गरे ।
सो अवसरमा संस्थाको मुखपत्र फ्रेंसी विमोचन र रजत महोत्सव गीत सार्वजनिक गरियो भने नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ एवं आमा समूह अध्यक्ष कमला गुरुङलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरयो ।
सो अवसरमा तमुधिं यूके संस्थापकहरु, विभिन्न इकाइमा योगदान दिएका व्यक्तित्व तथा समुदायमा योगदान दिनेलाई कम्युनिटी सर्भिस अवार्डबाट सम्मान गरिएको छ ।
संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु मेजर रि. डमर घले एमबीइ, मेजर रि. लालबहादुर गुरुङ, सुवाससिं गुरुङ बीइएम, मुछेत्र गुरुङ, कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङलगायतलाई सम्मान गरियो । यस्तै, आमा समूहकी संस्थापक अध्यक्ष एवं एनआरएनए यूके पूर्व अध्यक्ष पूनम गुरुङ, संस्थापक सल्लाहकार चन्द्रबहादुर गुरुङ, आशबहादुर गुरुङ, मीनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङलगायत सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
साथै लन्डन इकाईका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ, साउथ इष्ट रिजनल तमुधिं इकाइका ह्यारी गुरुङ, रन्जु घोताने, चारभन्ज्याङ तमु समाज यूकेबाट मास्टर प्रदीपजंग गुरुङ र अनमोल गुरुङलगायतलाई कम्युनिटी सर्भिस अवार्ड प्रदान गरियो ।
अन्तर्राष्ट्रियस्तरमा नाम चिनाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्यसहित यसैवर्ष स्थापित ‘तमु प्रतिभा पुरस्कार–२०२४’ राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) लाई प्रदान गर्ने घोषण गरिएको छ । पुरस्कार राशी ५० हजार रुपैयाँ छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको परिकल्पना र वरिष्ठ समाजसेवी तथा शिक्षाविद् एकेन्द्र गुरुङले लेखेको रजत महोत्सव गीत पनि सार्वजनिक गरिएको थियो । उक्त गीतमा ममता गुरुङ र राज गुरुङको आवाज छ भने साजन गुरुङले संगीत दिएका छन् ।
कार्यक्रममा ल्होछार तथा रजत महोत्सवका प्रमुख संयोजक उपाध्यक्ष कमल गुरुङले धन्यवाद दिए ।
झण्डै १५ सय सहभागी उक्त कार्यक्रममा दोश्रो चरणमा नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ, आश्रम गुरुङ, सज्जा चौलागाईं र तृष्णा गुरुङले सांगीतिक प्रस्तुति दिए भने स्थानीय कलाकार र नेपालबाट आएकी रुबिना अधिकारीले नृत्य देखाए ।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकत्वमा भएको सांगीतिक कार्यक्रम विभा गुरुङ, सूर्य गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोले खाना प्रवन्ध गरेको थियो ।
कार्यक्रम सफल बनाउन विभिन्न समिति गठन गरिएको थियो जसमा दिलरास गुरुङ स्पोन्सर संयोजक, कल सेन्टर र भाङ्ग्रा संयोजकमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ , मिडिया संयोजकमा एसके कुमार गुरुङ, गेस्ट संयोजकमा उपाध्यक्ष पर्शुराम गुरुङ, स्टेज तथा हल डेकोरेसनको प्रमुख संयोजकमा तमुधिं लन्डन इकाई र संयोजकमा ले. रि. कुसन गुरुङ थिए ।
यसैगरी, यातायाततर्फ संस्थाका सल्लाहकार शन्तकुमार गुरुङ, टिकट तथा राफल संयोजकमा कोषाध्यक्ष दिलमाया गुरुङ, कल्चरल संयोजकमा सांस्कृतिक सचिव साधुराम गुरुङ, साउन्ड–म्यूजिक संयोजकमा सल्लाहकार सपन राई, खाना तथा पेय पदार्थ संयोजकमा तमुधिं यूकेका ट्रष्टी सूर्य गुरुङ, सुरक्षा संयोजक सल्लाहकार ले. मुक्तिजङ गुरुङ थिए ।
सहजीकरण तथा एप्रिसिएसन समिति संयोजकमा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफल संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारमा लन्डन इकाई अध्यक्षसहितको टिम तथा कार पार्किङमा पनि लन्डन इकाइले नै संयोजनको भूमिका निभाएका थिए ।
अध्यक्ष हरि गुरुङले आफ्नो कार्यकालमा सघाउने सबैप्रति आभार व्यक्त गर्दै जुमकाजी नेतृत्वको कार्यसमितिलाई शुभकामना दिए । उनले रजत महोत्सव सफल बनाउन लागेका सबैजना र प्रायोजकहरुप्रति धन्यवाद समेत दिएका थिए ।
तस्विर-मिलन तमु
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५