शनिबार, पुष २०, २०८१
11:14 | १६:५९

तमु समाज यूकेको ग्रह शान्ति शुद्धीकरण पूजा

नेपाली लिङ्क डिसेम्बर २९, २०२४

लन्डन । तमु समाज यूकेले गत २८ डिसेम्बर शनिबार ग्रह शान्ति तथा शुद्धीकरण पूजा गरेको छ ।

तमुहरुको महान पर्व ल्होछारको अवसरमा गिद्ध वर्गको विदाई र सर्प वर्गलाई स्वागत गर्दै लन्डन वेम्लीस्थित तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा पूजा भएको हो ।

बिहान १० देखि शुभारम्भ भएर दिउसो ४ बजे समापन भएको उक्त कार्यक्रममा समाजका कार्यसमिति पदाधिकारी, सल्लाहकार, आजीवन सदस्यहरु लगायत जेष्ठ नागरिकदेखि युवा, बालबलिकाको समेत उल्लेखनीय उपस्थिति थियो ।

समाजका सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्व र आमा समूहकी अध्यक्ष विमला गुरुङको ब्यवस्थापनमा आयोजना गरिएको उक्त ग्रह शान्ति तथा शुद्धीकरण पूजा सुरु हुनु पहिले Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर फानबोरोका प्रमुख लामा ड्रुब्ला गुरुलाई समाजका अध्यक्ष श्रीमति बिन्दु घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धार्मिक विधिपूर्व पूजास्थलमा स्वागत गरेका थिए ।

पूजा कार्यक्रम शुभारम्भ गर्नु अघि समाजका निवर्तमान सचिव तथा सल्लाहकार धरमबल गुरुङले धर्म गुरुहरुको परिचय गराई पूजा स्थलमा अपनाउनु पर्ने ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिए ।

त्यसपश्चात संस्थाकी अध्यक्ष श्रीमति बिन्दु कुमारी घले, आमा समूहकी अध्यक्ष श्रीमति विमला गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, काउन्सिलर कमलबहादुर गुरुङ र निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले संयुक्त रुपमा द्वीप प्रज्वलन र छ्योक अर्पण गरि पूजा आरम्भ गरे ।

पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका धार्मिक संयोजक हरिमान गुरुङले गरेका थिए । नेपालबाट आएका Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर फानबोरोका प्रमुख लामा ड्रुब्ला गुरु  र उनका सहयोगी Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टरका संयोजक रविन्द्र लोसालद्वारा धार्मिक विधि अनुसार ग्रह शान्ति तथा शुद्धीकरण पूजा भयो भने धर्मगुरु लामा ड्रुब्ला गुरुले ग्रहशान्ति र शुद्धीकरण पूजा एवं यसको महत्वबारे प्रवचन दिए ।

करिब ४ बजेतिर धर्म गुरुहरुद्वारा पूजा कार्यक्रम समापन गरिएपछि समाजकी अध्यक्ष श्रीमति बिन्दु घले र कार्यसमितिका पदाधिकारीबाट धर्म गुरुङहरुलाई गुरु दक्षिणा प्रदान गरिएको थियो ।

पूजा समापनका अवसरमा संस्थाका कोषाध्यक्ष चन्द्र कान्त गुरुङले स्वतस्फूर्त द्रव्यदान गर्ने दाताहरुलाई धन्यवाद दिंदै दानवीरहरुको नामावली वाचन गरेका थिए ।

यसैगरि आमा समूहकी अध्यक्ष श्रीमति विमला गुरुङले भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने आमा समूहका आमा, दिदीबहिनीहरुको नामावली वाचन गरि आभार ब्यक्त गरिन् ।

अन्त्यमा संस्थाकी अध्यक्ष श्रीमति बिन्दु घलेले पूजा कार्यक्रम विधिपूर्वक सम्पन्न गरिदिएकामा धर्म गुरुहरु, पूजा संयोजक हरिमान गुरुङ एवं पैसा, भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने प्रायोजकहरु लगायत सबै सहयोगीमा धन्यवाद दिइन् ।

उनले आउंदो जनवरी ४ तारिख शनिबार ह्यारो लेजर सेन्टरमा हर्षोल्लासका साथ तमु ल्होछार-ल्होसार उत्सव मनाउने कार्यक्रम तय भएको जनाउंदै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गरिन् ।

-शिवकुमार गुरुङ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू