लन्डन ओटुमा हुने कन्दरा र स्वप्न सुमन कन्सर्ट तयारी अन्तिम चरणमा
लन्डन । लन्डन इण्डिगो एट ओटुमा जनवरी ४ तारिख हुन लागेको कन्दरा र स्वप्न सुमन कन्सर्ट तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
आयोजक मामाघर इन्टरटेनमेन्ट लि. ले शनिबार लन्डनमा एक पत्रकार सम्मेलन गरि कार्यक्रम तयारीबारे अवगत गराएको हो ।
पत्रकार सम्मेलनमा मामाघर इन्टरटेनमेन्ट लि. का निर्देशक विमल तिमिल्सेनाले ब्याण्ड स्थापनाको ३२ वर्षपछि लन्डनमा पहिलोपटक हुन लागेको कन्दरा कन्सर्ट गर्न आफूहरु उत्साहित भएको बताए । उनले ‘इभेन्ट फर अल जेनेरेसन’ अन्तर्गत स्वप्न सुमन र उनको आस्टर्स व्याण्डसमेत संलग्न हुने उक्त इभेन्टमा प्राय क्याटेगोरीका टिकटहरु सोल्ड आउट भइसकेको जनाउंदै नेपाली गीत संगीतलाई माया गर्न आव्हान गरे ।
तिमिल्सेनाले आफू कन्दराको फ्यान भएको र उसको कार्यक्रम सबै दर्शकलाई ‘टार्गेट’ गर्न सकिने विश्वास गर्दै प्रतिष्ठित भेन्यूमा गरौं भन्ने भएर ओटु छानिएको बताए ।
कार्यक्रम हेर्न युरोप, स्कटल्याण्ड, वेल्स् र मिडल्याण्डबाट समेत दर्शक आउन लागेका उनले जनाए ।
नेपालबाट दुई व्याण्डका कुल १५ जना कलाकार आउने र भेन्यूसमेत महंगो भएकाले यसको खर्च झण्डै ९० हजार पाउण्ड भएको तिमिल्सेनाले जनाए । उनले आफूहरु ‘ब्रेकइभन’ मा आइसकेको बताउंदै कार्यक्रममा क्वालिटी दिन कुनै सम्झौता नगरिने पनि बताए ।
आयोजकका अनुसार, इभेन्ट सांझ ठीक ७ बजे स्वप्न सुमनबाट ओपनिङ भएर ८ बजेसम्म उनको रहने र त्यसपछि कन्दराको २ घण्टा ननस्टप अनि लगत्तै ३२ वर्षको सेलिब्रेसन हुनेछ । कन्सर्ट सकिएपछि राती ११ देखि बिहान ५ बजेसम्म स्टुडियो ३३८ मा आफ्टर पार्टी (भान्जाभान्जी पार्टी) पनि गरिने मामाघरले जनाएको छ ।
कार्यक्रममा मामाघर इन्टरटेनमेन्ट लि. की कान्ति गुरुङ श्रेष्ठले फरक पहिचान बोकेको ब्याण्ड कन्दरा र युवा ढुकढुकी स्वप्न सुमन बेलायतमा आउन लागेकाले बेलायतको नेपाली समुदायलाई सहयोग गरिदिन अपिल गरिन् ।
उनले बेलायतमा भइरहेका कार्यक्रमभन्दा यो पृथक र विशेष भएको उल्लेख गर्दै आफ्नै क्षेत्रको पोखरेली ब्याण्ड यूकेमा गुन्जाउन पाउंदा खुशी लागेको बताइन् ।
मामाघरकै दीपक खड्काले प्रतिष्ठित भेन्यूमा गुणस्तरिय कन्सर्ट हुन लागेकाले हेर्न आइदिन अपिल गरे ।
पत्रकार सम्मेलनमा संघसंस्थाको तर्फबाट बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले नेपाली कला संस्कृति, पर्यटन प्रवर्धन र बुद्धको जन्मभूमि नेपाल भएको सन्देश दिन क्रियाशील आफ्नो संस्थासमेत कन्सर्टमा प्रत्यक्ष-अप्रत्यक्ष सहभागी हुन पाउनु सौभाग्य भएको बताए ।
उनले नेपाली समुदायमा कन्सर्ट माहोल बनिसकेको जनाउंदै मामाघरलाई आगामी दिनमा पनि अन्तर्राष्ट्रिय भेन्यूमा इभेन्ट गर्न शुभकामना दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५