बेलायतसहित ४१ देशका संसदसंग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह
बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ
काठमाडौं, पुस ११ गते । नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजक तोकेको छ । बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोकिने जानकारी सभामुख देवराज घिमिरेले दिएका छन् ।
सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लीलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा. चन्दा कार्की, नेपाल–भूटान संसदीय समूह संयोजक सुशीला सिर्पाली ठकुरी, नेपाल–संयुक्त राज्य अमेरिका संसदीय मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल–बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल–जापान संसदीय मैत्री समूहको संयोजकमा डा. नारायण खड्का र नेपाल–चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ तोकिएको बताए ।
सभामुख घिमिरेले बिहीबार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँग छलफल समेत गरे । उक्त छलफलमा उनले विदेशी मुलुकसँगको संसदीय सम्बन्ध थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन् ।
सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।