बुधबार, पुष १०, २०८१
15:58 | २१:४३

धार्मिक पूजापाठसहित ल्होछार मनाउँदै बीसीसी यूके

नेपाली लिङ्क डिसेम्बर २४, २०२४

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ । 

आउँदो ३० डिसेम्बर सोमबार अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार मनाउन लागिएको हो । 

उक्त ल्होछारका लागि नेपालबाट आमन्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थितिमा गर्न लागिएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, छोग, घनचक्र पूजा गरिनेछ । 

उक्त ल्होछारका दिन आमान्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग, बीसीसी यूकेका खेन्पो शेनाङ्ग, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुहरुले पूजापाठ गर्नेछन्।  

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् वर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्दछन् । सोही अनुरुप यसवर्ष विश्वभर रहेका गुरुङहरुले गिद्ध वर्गलाई बिदाई गर्दै सर्प वर्गलाई स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन क्याप्टेन देव घलेले जानकारी दिए ।  

कार्यक्रममा तमुधिं यूके, मगर संघ यूके, तामाङ सोसाइटी यूके, थकाली समाज यूके, ह्योल्मो समाज यूके, रङ्गजुङ्ग येशे उडियना सेन्टर, एनआरएनए यूके, शेर्पा एशोसिएशन यूके, स्थानीय नेपाली सामाजिक र धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी यूके ट्रष्टी सदस्यहरुलगायत संघसंस्थालाई आमन्त्रण गरिएको छ । 

बिहान ८ देखि साँझ ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर सोमबार ३० डिसेम्बरको बिहान ११ बजे भित्र गुम्बामा ल्याइदिन बीसीसी यूकेले अनुरोध गरेको छ । 

निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको सो कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत बीसीसी यूकेले अनुरोध गरेको छ । 


बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले विशेष जिम्मेवारी लिएको संयोजक क्याप्टेन घलेले जनाए । 

साथै, उनले उक्त दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरेका छन् । 

स्मरण रहोस्, बीसीसी यूकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायत कार्यक्रमहरुमा विशेष पूजापाठ गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू