आइतबार, पुष ७, २०८१
23:53 | ०५:३८

जनकपुरले जित्यो पहिलो एनपिएल उपाधि

नेपाली लिङ्क डिसेम्बर २१, २०२४

काठमाडौँ- पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्टसले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर च्याम्पियन बनेको हो।

जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।

जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जनकपुरका लागि अमेरिकी ब्याट्सम्यान मिलान्थाले सर्वाधिक ८७ रन बनाए । उनले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन्।

यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने ब्याट्सम्यान समेत बने। कप्तान आसिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्दै ६९ रन बनाए। विनोद भण्डारीले ४१ रन बनाए। हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/ १४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन जोडे।

बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट तथा ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिए।

जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू