बुधबार, माघ ९, २०८१
15:53 | २१:३८

तमुधिं यूके रजत जयन्ती तयारी तीव्र, लन्डन आइपुगे गायिका तृष्णा र ब्यान्ड

नेपाली लिङ्क डिसेम्बर २०, २०२४


लन्डन-तमुधिं यूकेको रजत जयन्ती समारोहमा प्रस्तुति दिन गायिका तृष्णा गुरुङ लन्डन आइपुगेकी छन् ।

यही डिसेम्बर २८ तारिख शनिबार लन्डनमा आयोजना हुने तुमधिं यूकेको रजत जयन्ती एवम् ल्होछार कार्यक्रममा प्रस्तुति दिन गायिका गुरुङ विहीबार बेलुका लन्डन उत्रिएकी हुन् ।

उनको साथ ‘द कोल्याब ब्यान्ड’ सदस्यहरु समेत लन्डन आएका छन् ।

तृष्णा र उनको ब्यान्ड लन्डन हिथ्रो विमानस्थल आइपुग्दा तमुधिं यूकेका पदाधिकारीहरु पुगेर स्वागत गरेका थिए । संस्थाका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कमल कोने गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, ट्रष्टी एवम् एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए आइसीसीसदस्य दिलरस गुरुङलगायत कलाकारको स्वागतार्थ विमानस्थल पुगेका थिए ।

यसैबीच, बेलायत उत्रिएलगत्तै गायिका तृष्णा र ब्यान्डका सदस्यहरुको स्वागतमा फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा ‘डिनर होस्ट’ गरिएको थियो।

तमुधिं युके ट्रष्टी एवम् एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले होस्ट गरेको डिनरमा संस्थाका अध्यक्ष हरि गुरुङसहितका पदाधिकारीले कलाकारलाई स्वागत गरेका थिए।

तमुधिं यूकेले आफ्नो स्थापनाको २५ औं वर्ष एक विशेष समारोहसाथ मनाउंदैछ । डिसेम्बर २८ शनिबार लन्डनको ह्यारो लिजर सेन्टरमा हुने कार्यक्रममा करिब १८ सय जनाको सहभागिता अपेक्षा गरिएको छ ।

रजत जयन्ती एवम् ल्होछार कार्यक्रममा प्रस्तुतिका लागि राष्ट्रिय स्तरका अन्य कलाकारसमेत बेलायत आउने कार्यक्रम संयोजक कमल कोने गुरुङले बताए ।

कार्यक्रम तयारी तीव्र रुपमा भइरहेको जनाउँदै उनले अब अन्तिम चरणको तयारीका कामहरु भइरहेको जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू