बुधबार, पुष ३, २०८१
06:57 | १२:४२

बेलायतमा बढ्दो तामाङ समुदाय र संयुक्त सोनाम ल्होसार

विशाल तामाङ डिसेम्बर १७, २०२४

फाइल तस्विर

बेलायतमा चिसो बढिरहंदा तामाङहरुको भेटघाट, बैठक, साना ठूला भेलाहरु पनि उत्तिकै बढेको छ । प्रसंग सोनाम ल्होसारको हो । नेपालका आदिवासी जनजातिहरु मध्ये विशेषगरी तामाङ, शेर्पा, ह्योल्मो र थकालीहरु सोनाम ल्होसार मनाउंछन् भने गुरुङहरु तोला ल्होसार मनाउंछन् । टिबेटनमूलका केहि समुदायले ग्याल्बो ल्होसार पनि मनाउंछन् ।

नेपालको हकमा मनाइने प्रमुख दुई ल्होसार भने तोला र सोनाम नै हो । चन्द्र पात्रो अन्तर्गत मञ्जुर्श्री सम्बत २८६१ औं सोनाम ल्होसार यस वर्ष डुल ल्हो (सर्प वर्ग) परेको छ ।

तामाङ लगायत सबै माथि उल्लेखित समुदायहरुले आफ्नो यस नयां वर्षलाई नेपालभर धुमधामले मनाउंछन् भने विदेशमा बस्ने समुदायहरुले पनि उसैगरी वर्ष दिनमा आउने यो पर्व बडो उत्साहका साथ मनाउंछन् ।

बेलायतमा तामाङहरु लगभग २० हजार आसपासमा रहेको अनुमान छ । सन् २००९ ताका बेलायत सरकारले भूपू गोर्खाहरु र तिनका परिवारलाई आवासीय अधिकार दिने नीति पारित गरेपछि नेपालीहरुको जनघनत्व बढ्दै गयो । तामाङहरुको जनसख्या बढ्नुको कारण पनि भूपू गोर्खाहरुको आवासीय अधिकार नीति, गोर्खा भर्तीमा निरन्तर तामाङ युवाहरुको पनि छनौट, अध्ययन र श्रमका लागि आउनु अनि यतै स्थायी रुपमा बस्नु प्रमुख देखिन्छ ।

विभिन्न अध्ययन अनुसार बेलायतमा पाइला टेक्ने पहिलो नेपाली मोतिलाल सिंह र राणा प्रधानमन्त्री जंगबहादुर नै रहेको पाइन्छ ।

बेलायतका स्थानीय पुराना तामाङ अभियन्ताहरुका अनुसार सन् २००६ देखि तामाङहरु संगठित हुन थाले । आफू आफू भेला भई समाज निर्माण गर्ने र आफ्ना परम्परा, भाषा, धर्म र संस्कृतिहरु संरक्षण गर्नका लागि संस्थाहरु जन्मन्छन् जुन स्वभाविक हो ।

मानिसहरु विस्तारै बढ्दै गए भने अरु विविध कारण यस्ता संस्थाहरु एक दुई हुंदै बेलायतमा अहिले तामाङ समाजहरु नै ६ वटा क्रियाशील देखिएका छन् ।

उही जाती, एकै उद्देश्य छ भने छुट्टाछुट्टै समाजहरु निर्माण गरि किन टुक्रिएर बस्ने ? भावी सन्ततिहरुको लागि एउटा सुन्दर तामाङ समाज जहाँ आफ्नो परम्परा, कालजयी गीत संगीत, धर्म र संस्कृति सुरक्षित होस् भन्ने मनसायबाट धेरै तामाङ वुद्धिजिवी, समाजसेवीहरु चिन्तित भएर यो वहसको विषय बन्दै गएको छ ।

जुन वास्तविक रुपमा समय सान्दर्भिक पनि छ । हाम्रा अग्रजहरुले प्रतिकुल परिस्थितिका बावजुद पनि तामाङहरुको हक अधिकारका लागि संघर्ष गरे, ति संघर्षहरुको प्रतिफलका रुपमा जुन उपलब्धिहरु आज हाम्रो पुस्तालाई मिलेको छ, अब फेरी हामी आफ्नै दम्भ, घमण्ड र अहंकारको कारण ति प्राप्त उपलब्धिहरु बचाउन नसक्नु र आगामी पुस्तालाई हस्तान्तरण गर्न चुक्यौं भने इतिहासले सराप्नेछ ।

यस्तै भावनाबाट प्रेरित भएर बेलायतका क्रियाशील पांच समाजहरु एक साथ लन्डनको ह्यारो लिजर सेन्टरमा संयुक्त ल्होसार कार्यक्रम मनाउन जुटेका छन् यही २५ जनवरीका दिन । यस संयुक्त ल्होसार मूल समारोह समितिका संयोजक हरिसिंह वाइबा र सदस्य सचिव बम ब्लेन्थेन हुनुहुन्छ । सबै पाँच समाजका अध्यक्षहरु सदस्य रहने गरि १०१ सदस्यीय मूल समारोह समिति बनिसकेको छ । आर्थिक संयोजकमा दावा स्याङ्ग्बो रहनुभएको छ ।

यस्ता संयुक्त कार्यक्रम लण्डनमा भलै पहिलोपटक हो तर अन्य ठाउंहरुमा पनि भइसकेका छन् । सन् २००५ ताका होला कास्कीमा नेपाल तामाङ घेदुङ कास्की, ह्योल्मो समाज कास्की र तिन गाउंले थकाली समाजले पनि सोनाम ल्होसारको उपलक्ष्यमा एक हप्ते संयुक्त कार्यक्रम आयोजना गरेका थिए । कुमबहादुर तामाङ, क्या. पूर्णबहादुर ह्योल्मो र वसन्त थकालीले त्यस वर्षको ल्होसार कार्यक्रमको नेतृत्व गर्नुभएको थियो ।

यस्तै सन् २०१६ मा इटालीको मिलानमा रेन्जी शेर्पाको संयोजकत्वमा तामाङ, शेर्पा, गुरुङ र टिबेटनहरुले संयुक्त रुपमा कार्यक्रम गरि एक भव्य ल्होसार मनाएका थिए ।

त्यसपछि सन् २०१७ मा म स्वयं मितेरी मञ्च मिलानको अध्यक्ष निर्वाचित भएं, मितेरी मञ्च मिलान कुनै जातिय संस्था होइन्, मिलानमा एउटा मात्र नेपालीहरुको साझा संस्था छ त्यो मितेरी मञ्च मिलान हो । हामीले त्यही संस्थामार्फत ल्होसार, दशैं, तीज र नेपाली नयाँ वर्ष मनाउने परम्परा सुरु गरेका थियौं ।

यो हिसाबले हेर्ने हो भने बेलायतका तामाङहरु जुट्नका लागि ढिला भएको हो भन्ने बुझिन्छ ।

खैर देर आया दुरुस्त आया भने जस्तै तामाङ अभियन्ताहरु र यी पांच समाजहरु ल्हाम्हेंदो तामाङ समाज, तामाङ समाज यूके, म्हेंदोमाया समाज यूके, तामाङ घेदुङ्ग रेडिङ र तामाङ ह्युल्बा केन्टका अध्यक्षज्यूहरु र पदाधिकारीहरुको आंट र उत्साहलाई सलाम गर्नै पर्छ ।

एउटा अभूतपूर्व एतिहासिक कार्यक्रम सम्पन्न हुन गइरहेको छ ।

जनवरी २५ तारिक बिहान ११ः३० देखि लामा गुरु कर्म वान्ग्देल र उहांको टिमले पूजा सुरु गर्नुहुनेछ, वाङ्ग वितरण पूजा पाठ ढोकभेट पश्चात दिउसो २ बजे देखि औपचारिक कार्यक्रम सुरु हुनेछ । मिठा तामाङ परिकार छोहोका साथै भोजनको व्यवस्था साथै सांस्कृतिक कार्यक्रम लगभग रातको ३ बजेसम्म चल्नेछ ।

कार्यक्रमका प्रमुख आकर्षणहरु इन्डियन आइडलका पूर्व विजेता प्रशान्त तामाङ, सेलो गायक चन्द्र कुमार दोङ्ग, रोशन फ्युबा, गीतु लोप्चन र ऋतु लामा रहनेछन् ।

लेखक विशाल तामाङ

अन्त्यमा, सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई यस ऐतिहासिक कार्यक्रमको प्रत्यक्षदर्शी बन्नका लागि म हार्दिक अनुरोध गर्दछु । संस्कृतिक एक्येवद्धताले नै समाज बलियो हुने हो । २५ जनवरी ह्यारो जाऊं, सोनाम ल्होसार मनाऊं । थुजेछे !

(लेखक तामाङ संयुक्त ल्होसार मूल आयोजक समारोह सदस्य तथा ल्हाम्हेंदो समाज यूकेका महासचिव हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू