एसियन कुजिनसहितको जुस बार स्क्वीज्डको शाखा प्लमस्टिडमा
लन्डन- लन्डनमा पृथक कन्सेप्ट र ब्रान्डिङमा नेपाली युवाले स्थापना गरेको एसियन फ्यूजन कुजिनसहितको जुस बार ‘स्क्वीज्ड’ अब साउथ इष्ट लन्डनमा पनि आउने भएको छ ।
साउथ वेष्ट लन्डनको बाल्हाम हाइरोडमा गत अप्रिलमा सुरु भएको ‘स्क्वीज्ड’को नयाँ फ्रेन्चाइज शाखा प्लमस्टिडमा खुल्ने भएको हो ।
प्लमस्टिड स्टेसननजिकै पहिला नेपाली रेष्टुरेन्ट डाँफे सञ्चालन भएकै भेन्यूमा अब चाँडै स्क्वीज्ड ओपनिङ गर्ने तयारी रहेको सञ्चालक समिर शर्माले जनाएका छन् ।
सबै लिगल तथा कागजी कामहरु पूरा भइसकेको जनाउँदै उनले अब बारको अन्य तयारी र सजावटका कामहरु भइरहेको बताए ।
ब्रान्ड स्थापित गरेर फ्रेन्चाइजका रुपमा विस्तार गर्ने सोचसहित सुरु भएको स्क्वीज्डको एक वर्षभित्रै नयाँ शाखा खोल्न लागिएको हो । निकट भविष्यमा लन्डनका अन्य स्थानमा समेत फ्रेन्चाइज बिस्तारका लागि गृहकार्य भइरहेको सञ्चालक समिरले बताएका छन् ।
समिर शर्मा र सविन शर्मा दाजुभाई मिलेर स्थापना गरेका हुन् ‘स्क्वीज्ड’ । ब्रान्डिङ एण्ड म्यानेजमेन्टमा मास्टर्स गरेका समिर र कोस्टा कफीमा म्यानेजरको काम गरिसकेका सविन स्क्वीज्डको बिस्तारमा जुटिरहेका छन् ।
टेक वे (ग्रयाब एण्ड गो) र हेल्डी फुड कन्सेप्टमा खुलेको फेमिली रन विजनेश स्क्वीज्डमा विशेष गरि चिकेन, ल्याम्ब र भेज मःम, नुडल्स् अनि हाल ट्रेन्डिङमा रहेका दुई दर्जन किसिमका सुसी उपलव्ध छन् ।
क्लासिकदेखि स्पेशलियाटी कफी र विभिन्न ट्रपीकल एण्ड एक्जोटिक फ्रेस फ्रुट्स जुस, भेजिटेबल (एभोकाडो, सेलरी, साग, गाजर, कांक्रो आदि) को स्मुदी यसका विशेषता हुन् । नुडल्स् र मम मिक्स गरेको कम्बो बक्स, सुसी पोकी बल पनि यहां खुबै चलेका खाना हुन् । बालबच्चालाई आकर्षित गर्ने खालका किड्स मेनु पनि यहां उपलब्ध छ ।
जुस बारको कलर र एम्बियन्स्, कफी जुस सर्भ गर्ने कप, ग्लास, सुसी नुडल्स् खाना हाल्ने बउल, टेक वे ब्यागमा गरिएको आकर्षक ब्रान्डिङ ग्राहकले रुचाएका छन् ।
यो पनि पढौंः
लन्डनमा नौलो कन्सेप्ट र ब्रान्डिङमा नेपाली युवाले खोले एसियन फ्यूजन कुजिन र जुसबार (भिडियो)