सोमबार, पुष १, २०८१
20:53 | ०२:३८

प्रधानमन्त्री ओलीबाट सम्मानित भए बेलायतका नेवा अभियन्ता प्रजापति

नेपाली लिङ्क डिसेम्बर १५, २०२४

लन्डन- बेलायतमा रहेर नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय अभियन्ता सुशील प्रजापति प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् ।

२१ औं ज्यापु दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्रजापतिलाई ‘ज्यापु हलिं विशेष सम्मान’ बाट सम्मान गरेका हुन् ।

सम्मानपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले विदेशमा नेवारी तथा नेपाली कला, संस्कृतिको जगेर्नामा गरिरहेको प्रयासका लागि धन्यवाद दिएको प्रजापतिले नेपालीलिंकलाई बताए । प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि कला, संस्कृति प्रवर्द्धनमा जुटिरहन आग्रह गरेका थिए ।

डायस्पोरामा नेवारी कला, संस्कृति, जात्रा, बाजागाजा, भाषालगायतको प्रवर्द्धनमा निरन्तर योगदान दिएबापत ज्यापु संस्कृति संरक्षण कोषका तर्फबाट प्रजापतिलाई सम्मान गरिएको हो ।

सो अवसरमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल, ज्यापु महागुठीको अध्यक्ष सत्यनारायण डंगोल, ज्यापु संस्कृति संरक्षण कोषका अध्यक्ष मंगलकृष्ण सिंहलगायतको उपस्थिति थियो।

कोषले हरेक वर्ष योमरी पुन्हीका दिन मनाउँदै आएको ज्यापु दिवसका अवसरमा नेवारी कला, संस्कृतिका क्षेत्रमा योगदान गर्ने अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ । यस वर्ष सम्मान पाउने आधा दर्जन व्यक्तित्वमध्ये डायस्पोराबाट प्रजापति मात्रै थिए ।

प्रधानमन्त्रीबाट ‘ज्यापु हलिं विशेष सम्मान’ ले सम्मानित प्रजापति पासा पुचः गुथि यूकेका वर्तमान अध्यक्ष हुन् । उनले डेढ दशकभन्दा लामो समयदेखि बेलायतमा नेवारी बाजा, भाषा, जात्रा, परिकारलगायतको प्रवर्द्धन गर्दै आएका छन् ।

प्रजापतिको सोही कार्यको कदरस्वरुप यसअघि लन्डनको रोयल ग्रीनवीच बरोले पनि उनलाई ‘सिभिक अवार्ड’ प्रदान गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू