बुधबार, माघ २३, २०८१
06:47 | १२:३२

एनपिएलको प्ले अफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

नेपाली लिङ्क डिसेम्बर १२, २०२४

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा पुगेको छ । जनकपुरले लिग चरणको एक खेल अगावै प्ले अफमा स्थान बनाएको हो ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले हरायो । जितसँगै ६ खेलबाट १० अङ्क बनाएको जनकपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जनकपुर प्ले अफ पुग्ने पहिलो टोली समेत बनेको छ ।

दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सको पाँच खेलबाट आठ अङ्क छ । जनकपुरसँग पराजित काठमाडौँको पाँच खेलबाट चार अङ्क छ । काठमाडौँको प्ले अफ पुग्ने सम्भावना कायम छ ।

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पाएको जनकपुरले १५.५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय चार रन जोड्दै लक्ष्य भेट्टाएको हो । जनकपुरका लागि जेम्स निसमले २७ रन बनाए ।

यस्तै हर्ष थाकरले अविजित २५, ओपनर लाहिरु मिलान्थाले १६, मोहमद मोसिनले अविजित अविजित १३ र कप्तान अनिल शाहले ११ रन बनाए ।

बलिङमा काठमाडौँका करण केसीले दुई तथा शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । काठमाडौँका लागि जेराल्ड इरसमसले सर्वाधिक २० रन बनाए । कप्तान करण केसीले १९ र स्टेफन स्किनजीले १७ रन बनाए ।

काठमाडौँलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी र शेर मल्लले तीन तीन विकेट लिए । ललित प्लेयर अफ दि म्याच बने । मोहमद मोसिमले दुई तथा किशोर महतो र अरनिको यादवले एक एक विकेट लिए । जनकपुरले अब लिगको अन्तिम खेल शनिबार चितवन राइनोजसँग खेल्नेछ ।

यसअघि बिहीबार नै भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपर ओभरमा १३ रनले पराजित गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू