बिहीबार, माघ १०, २०८१
19:15 | ०१:००

बेलायतमा नेपालीका घरहरु लुटेराको मुख्य निशानामा  

नेपाली लिङ्क डिसेम्बर ९, २०२४

प्रतिकात्मक तस्विर

लन्डन । बेलायतमा पछिल्लो समय सुनका गरगहना चोरीको घट्ना अत्यधिक बढेको छ । गरगहना चोरीको शिकार बन्नेमा एसियनमूलका भारतीय साथै नेपालीहरु पनि उल्लेखनीय मात्रामा पर्ने गरेको तथ्यांकले देखाएको छ ।

विशेषगरि नेपाली तथा एसियालीमूलका मानिस बसोबास गर्ने ठाउंमा सुनका गरगहना बढी हुने हुँदा यी क्षेत्रमा चोरीका घटना अत्यधिक बढ्ने गरेको प्रहरीले जनाएको छ ।

सन् २०१९ मा सार्वजनिक एक तथ्यांक अनुसार सन् २०१३ देखि सन् २०१८ सम्म पांच वर्षको अवधिमा मात्र बेलायतमा १४ करोड पाउन्डको सुनका गहना चोरी भएको बीबीसी अनुसन्धानले बताएको छ । जसमा सबैभन्दा बढी ग्रेटर लण्डनमा ११ करोड भन्दा बढी चोरी र म्यानचेष्टरमा ९६ लाखको गहना चोरी भएको थियो । सो अवधिमा एसियनको २८ हजार चोरीका घटना भएका थिए ।

नेपालीका घरबाट सुनका गहनाहरु लुटिएका समाचार वर्षौंदेखि सुनिए पनि यसप्रति कसैले सावधानी अपनाएको देखिन्न । विभिन्न चाडबाड र सामाजिक संजालको बढ्दो प्रतिष्पर्धाका कारण लुटेराहरुलाई थप सहयोग पुग्दै आएको छ ।

नेपालीहरुको बाक्लो वस्ती भएका स्थानहरु अल्डरसट, फार्नबरो, प्लमस्टेड, रेडिङ, हेज, हन्स्लो, फेल्थमलगायत क्षेत्रमा नेपालीका घरमा चोरी हुने गरेको छ ।

यस्तो घट्नामा अप्रत्यक्षरुपमा नेपालीको पनि संलग्नता रहने गरेको अनुमान छ, यद्यपि कुनै ठोस प्रमाण भने फेला परेको छैन । चोरीका घटना प्राय दिउँसो तथा साँझको समयमा बढी हुने गर्दछ ।

गत महिना नोभेम्बरमा मात्रै वेष्ट लण्डनको हेज, वेस्ट ड्रायटन, स्टानवेललगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका नेपालीको घरमा चोरीका घटना भएका थिए। स्टानवेलमा भएको घटनामा घरधनी नेपाल गएको मौका पारी चोरी भएको थियो भने हेजमा भएको घटनामा भने घरपरिवारका सदस्य सिटिंग रुममा बसिरहेको अवस्थामा नै चोरी भएको थियो ।

उनीहरुले आफ्नै परिवारका सदस्य होला भन्ने अनुमानले वेवास्ता गर्दा लुटेराहरु चोरी गर्न सफल भएका थिए । लुटेराहरुले धेरै पूर्वतयारी गरेर मात्र लुट्न आउने र मेटल डिटेक्टरको प्रयोग गरेर उनीहरुले सुन तथा सुनका गहना तथा नगद मात्र लिएर जाने गर्छन् ।

चोरी भएका गरगहनाहरु भेट्ने सम्भावना अत्यन्त कम हुने गरेको पीडितहरु बताउँछन् । केही वर्ष अगाडि फेल्थम निवासी कृष्ण आचार्यको घरमा दिनदहाडै लुटेराहरुले पछाडिको ढोका फोरेर करिब ४० तोला सुन र नगद लिएर भागेका थिए । सिसिटिभीमा प्रष्ट रुपमा देखिएको उक्त घटनाको सिसिटिभी फुटेजसहित प्रहरीलाई बुझाउँदा पनि फेला नपरेको आचार्यको गुनासो छ ।

दुई वर्षअघि हिथ्रो एअरपोर्ट नजिक अमृत गुरुङको घरबाट करिब दुईसय तोला सुनका गरगहना चोरी भएको थियो । लुटेराहरुले घरमा बसिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर १० देखि १५ मिनेटभित्रै सम्पूर्ण गरगहना तथा नगद लुटेर भागेका थिए ।

तसर्थ हराएका गरगहना फिर्ता हुने सम्भावना न्यून रहेको हुँदा घरमा गरिएको कन्टेन्ट इन्स्योरेन्सको आधारमा क्षतिपूर्ति पाइने भएकाले घरको इन्स्योरेन्स गर्दा कन्टेन्ट इन्स्योरेन्सको रकम कम भएमा क्षतिपूर्ति पनि कम हुन सक्छ ।

घरपरिवारमा राखिने गरगहना लक्षित चोरीको घटना भारतीय र नेपालीलगायतको घरमा अत्यधिक मात्रामा बढ्न थालेपछि प्रहरीले एसियाली समुदायलाई विशेष सतर्क अपनाउन सुझाएको छ । यस्ता चोरीमा संलग्न हुनेहरु ‘संगठित अपराध’ भएको प्रहरीको दावी छ । कतिपय भारतीय महिलाहरुले त बेलायत भन्दा भारत नै सुरक्षित रहेको भन्दै उनीहरुले सुनका गरगहना भारतमै लगेर राख्ने गरेको बताएका छन् ।

बीबीसी डोरसेट पुलिस, ह्याम्पशायर र आइल अफ वाइट कन्स्टेबुलरी, सरे पुलिस, ससेक्स पुलिस, थेम्स  भ्याली पुलिस र विल्टसायर पुलिसलाई एसियालीको घरमा हुने सुन चोरीको बारेमा जानकारी गराएको थियो ।

सुनको मूल्य अत्यधिक बढेका कारण एसियनको घरमा चोरीको घट्ना वृद्धि भएको हुँदा प्रहरीले एसियाली समुदायलाई उच्च सतर्कता अपनाउन भनेको छ । चोरी गरिएका गरगहनाहरु पहिचान गर्न नसकिने बनाउन लुटेराहरुले अनलाइन खरिद गरिएका उपकरणहरू प्रयोग गरेर यसलाई पगाल्ने गर्छन्।

घटना हुन नदिन स्वयं सतर्क रहनुपर्ने प्रहरी बताउँछन् । बैंक वा सेफ्टी डिपोजिट बक्स जस्ता सुरक्षित स्थानमा गरगहना राख्न र घरमा अलार्म तथा सिसिटिभी क्यामेराहरू जडान गर्नेलगायत बहुमूल्य वस्तुहरूमा विशेष सावधान अपनाउन प्रहरीले सल्लाह दिंदै आएको छ।

स्थानीय बासिन्दाहरुले आफ्नो छरछिमेकमासमेत नजर राख्नुपर्ने तथा नौला सवारीसाधन र मानिसहरु ओहोरदोहोर गरेको देखिएमा विशेष निगरानी राख्नुपर्छ । झ्याल तथा गेटमा ग्रीलको व्यवस्था गर्न सके केही हदसम्म सुरक्षित रहन सकिन्छ । विभिन्न चाडबाड, पार्टी एवं सामाजिक संजालहरुमा बहुमूल्य गरगहनाको प्रदर्शनीले पनि चोरीको घटनालाई प्रेरित गर्ने हुँदा यसमा सावधानी रहनुपर्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू