आइतबार, पुष ७, २०८१
09:02 | १४:४७

लन्डनभन्दा भैँसीगोठमा मिलेको सन्तुष्टि, भैँसी पालेर वार्षिक २० लाख आम्दानी

रासस डिसेम्बर ५, २०२४

बागलुङ- बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे। रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लन्डन पुगेका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए।

विदेशको दुःख देखेपछि स्वदेश फर्किएका उनले काठमाडौंमा पाँच वर्ष होटेल व्यवसाय गरे। होटेल व्यवसाय राम्रो भए पनि उनलाई गाउँघरको यादले सताइ रह्यो। आधा दशक होटेल व्यवसाय गरेका सुरेश अन्ततः विसं २०७७ मा गाउँ फर्किए।

उनी गाउँ फर्कने समयमा देशभर कोरोना संक्रमणको फैलिँदो थियो। कोरोना संक्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन। कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रूपमा दुध बिक्री गर्दै आएका थिए। गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो।

अनुदानमा पाएको भैँसीले सुरेशलाई दुध उत्पादनमा लाग्ने हौसला दियो। उनले थप दुईवटा भैँसी लिएर व्यावसायिक रूपमै दुध उत्पादन गर्ने निधो गरे। अहिले उनी जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रूपमा परिचित छन् । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ।

अहिले उनलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ। उनले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यवसायिक रूपमा दुध उत्पादनमा लागेका छन्।

कँडेललाई अहिले घरपरिवारको पनि दरिलो साथ छ। चार वर्षअगाडि फार्म दर्ता गरेका कँडेलले वार्षिक १५ हजार लिटर दुध बिक्री गर्दै आएका छन्। दुई लाख रुपैयाँबाट सुरु गरेको व्यवसायमा उनले हालसम्म २५ लाख रुपैयाँ बढी लगानी गरिसकेका छन्। उनको फार्ममा हाल सात उन्नत जातका भैँसी छन्। बागलुङ बजारनजिक रहेको हुँदा दुध खपत राम्रो छ। कँडेलले वार्षिक रु. २० लाखको दुध बिक्री गर्दै आएका छन्।

विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताए। विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उनको भनाइ छ।

‘विदेशमा गएपछि सजिलै कमाइ हुन्छ भन्ने सोचेको थिएँ, त्यहाँ गएपछि दुःख त्यहाँको कामलाई हेरेर म आफ्नै ठाउँमा फर्किन्छु भनेर फर्किएँ, केही वर्ष होटेल व्यवसाय गरे, त्यहाँ राम्रै भएको थियो, मलाई सहर बजारभन्दा गाउँनै ठिक लाग्यो र यहाँ आएँ,’ कँडेलले भने, ’अहिले मलाई गाउँ फर्किएकोमा कुनै पश्चाताप छैन, मैले जे गरे ठिक गरेँ जस्तो लाग्छ, मैले दुईवटा भैँसीबाट परीक्षणका लागि दुध उत्पादनमा लागेको थिएँ, अहिले मलाई लन्डनभन्दा भैँसीगोठमा सन्तुष्टि मिलेको छ।’

कँडेलले गाउँमा सहर बजारभन्दा केही दुःख भए पनि सम्भावना धेरै रहेको बताए। पछिल्लो समय धेरै युवाको रोजाइ विदेश रहेको सुनाउँदै त्यहाँ (विदेश) गर्ने दुःख आफ्नै पाखा–पखेरामा गरे राम्रो आम्दानी गर्न सकिने र आनन्दको जीवनयापन हुने उनको भनाइ छ। भैँसी पालेर दुध बिक्रीबाट आफ्नो परिवार राम्रोसँग चलेको कँडेल बताउँछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू