बुधबार, मंसिर १९, २०८१
18:03 | २३:४८

बेलायतमा प्रोपर्टी किन्न अहिले उपयुक्त समय

नेपाली लिङ्क डिसेम्बर ३, २०२४

लन्डन । बेलायतमा घर खरिद गर्न अहिलेको समय उपयुक्त रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका मोर्गेज एड्भाइजर रमेश सरांगकोटीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ यूकेले आइतबार आयोजना गरेको भर्चुअल संवादमा उनले सो कुरा बताएका हुन् । उक्त संवाद शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले चलाएका थिए ।

फर्ष्ट टाइम बायरलाई घर किन्न बेलायतमा अत्यन्तै सजिलो र पारदर्शी हुने उनले बताए । घर खरिद गर्नु अघि कस्तो घर किन्ने र कहाँ किन्ने भन्ने बारेमा पहिला नै छलफल गर्नुपर्ने उनको सुझाव छ ।

बेलायतमा ‘बाइ टु लेट’ व्यवसाय निकै फष्टाएको र बाइ टु लेटका लागि आम्दानी भन्दा त्यसबाट प्राप्त हुने रेन्टमा भर भएकाले पहिलो घर किनिसकेका लागि अत्यन्त सहज हुने उनको भनाइ थियो ।

करिब डेढ घण्टा लामो संवादमा वरिष्ठ मोर्गेज सल्लाहकार सरांगकोटीले पहिलोपल्ट घर खरिद गर्ने (फर्स्ट टाइम बायर), घर खरिद गरिसकेका (होम अनर) र लगानीकर्ताका लागि (बाइ टु लेट) सम्बन्धि जानकारी दिएका थिए ।

विगत केहि वर्षको तुलनामा अहिले बैंकको ब्याज दर घटेको र भविष्यमा के हुन्छ भन्ने विषयमा कसैले पनि बताउन नसक्ने र कसैले बताए पनि भविश्यवाणी जस्तो मात्र हुने उनको धारणा थियो ।

बैंक अफ इग्ल्यांडको नौ जनाको टिम मनिटरी पोलिसी कमिटीले भोटिंग गरेर मात्र ब्याजदर निर्धारण हुने र उक्त भोटिंगका लागि वर्षमा ८ पटक मिटिंग हुने र त्यसको मिति पहिला नै निर्धारण गरिने उनले बताए ।

विगत केहि वर्षलाई आधार मान्दा हालको बैंकको ब्याज दर बढी देखिएपनि सन् १९९५ तिर यो भन्दा कैयौं गुणा बढी रहेको डेटा उनले प्रस्तुत गरेका थिए ।

यसैगरी एकपटक घर खरिद गरिसकेपछि रेसिडेन्सियल प्रोपर्टी रिमोर्गेज गर्दा अपनाउनु पर्ने विभिन्न प्रक्रिया र यसका फाइदा बेफाइदाबारे पनि उनले प्रष्ट्याएका थिए । रिमोर्गेज गर्दा लगानी गर्ने अवसर, अन्य व्यक्तिलाई समावेश गर्ने सम्भावना र मर्मत गर्न लाग्ने खर्च पनि लिन सकिने हुँदा यस्ता फाइदाको बारेमा सबैले बुझ्न आवश्यक रहेको उनले बताए ।

विभिन्न प्रकारका मोर्गेजका लागि बैंकले निर्धारण गरेको ब्याज दर र घर खरिद गर्दा लाग्ने कर स्ट्याम्प ड्युटीको बारेमा पनि उनले प्रष्ट्याए ।

बेलायतमा घर खरिद गर्दा गरेको लगानी खेर नजाने उनको दावी छ । घर खरिद गर्न विभिन्न प्रकारका स्किम रहेका र धेरैले यसबारे नबुझेकाले पनि प्रायः नेपाली प्रोपर्टी व्यवसायमा लाग्न नचाहेको उनको भनाइ छ ।

पत्रकार महासंघ यूकेले गत नोभेम्बर १ तारिखबाट प्रत्येक महिनाको पहिलो आइतबार समसामयिक र जनचासोका विषयमा संवाद गर्दै आएको छ ।

संवादको पूर्ण विवरण तल भिडियोमाः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू