बिहीबार, मंसिर १३, २०८१
19:50 | ०१:३५

गुल्मी जिल्ला समाज यूकेको अपांगता दिवस च्यारिटी मिडल्यान्डमा

कार्यक्रम १ डिसेम्बर आइतबार मार्केट हारबरोमा

नेपाली लिङ्क नोभेम्बर २७, २०२४

लन्डन- विश्व अपांगता दिवसको अवसरमा गुल्मी जिल्ला समाज यूकेले वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ।

आगामी डिसेम्बर १ तारिख आइतबार मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डमा अपांगता दिवस च्यारिटी कार्यक्रम तय छ।

विगतमा अधिकांश वर्षहरुमा लन्डनमै हुंदै आएको यो कार्यक्रम अहिले दोस्रोपटक मिडल्यान्डमा गर्न लागिएको हो।

दिउंसो १ बजेदेखि सांझ ८ बजेसम्म निर्धारित कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति गर्ने भएका छन्।

सो अवसरमा गायक दीपक घर्ती मगर, गायिका रेजिना परियार र मोडल रुबिना अधिकारीले प्रस्तुति गर्ने समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए। साथमा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति पनि कार्यक्रममा रहनेछ।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संस्था र समुदायका अभियन्ताहरु पनि आमन्त्रित छन्।

च्यारिटी कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष मुकुन्द खरालले गर्दैछन् भने सहसंयोजक कार्यसमिति सदस्य सुरेश केसी छन्।

संयोजक खरालले मिडल्यान्डमा हुन लागेको च्यारिटी कार्यक्रमलाई सफल पार्ने अठोटसहित आफूहरु तयारीमा जुटेको बताए।

च्यारिटी कार्यक्रममा सहभागिताको लागि २५ पाउण्डको टिकट राखिएको छ जसमा डिनर समेत उपलब्ध गराइनेछ।

कार्यक्रममा सहभागी हुन तथा अपांगता भएकाहरुलाई सहयोग गर्ने पवित्र उद्धेश्यले हुन लागेको कार्यक्रममा सहयोग गर्न समाजले बेलायतस्थित सिंगो नेपाली समुदायलाई आव्हान गरेको छ।

गुल्मी जिल्ला समाज यूकेले विश्व अपांगता दिवसको अवसर पारेर विगत १३ वर्षदेखि बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गर्दै आएको छ।

कार्यक्रमबाट संकलित रकमबाट गुल्मी र नेपालका अन्य जिल्लामा समेत अपांगता भएकाहरुको लागि सहयोग गरिंदै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू