सोमबार, मंसिर १०, २०८१
22:56 | ०४:४१

बेलायतमा हराइरहेका नेपाली विद्यार्थी सकुशल भेटिए

नेपाली लिङ्क नोभेम्बर २४, २०२४

लन्डन । विगत आठ दिनदेखि बेलायतमा हराइरहेका एक नेपाली विद्यार्थी सचिन भट्टराई सकुशल भेटिएका छन् ।

बिस्टलमा उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार सचिन आफैं अनलाइन सम्पर्कमा आएको जानकारी दिए । सचिन आफू बस्ने ब्रिस्टलस्थित मार्स्टन रोडबाट हिंडेर करिब १० मिनेट आसपास ठाउंमा भेटिएको वाग्लेले बताए । उनीहरु अहिले ब्रिस्टल प्रहरी कार्यालयमा छन् । उनको खोजीका लागि गत सोमबार ब्रिस्टल प्रहरीमा उजुरी गरिएको थियो ।

उच्च शिक्षाका लागि करिब दुई महिनाअघिमात्र बेलायत आएका सचिन भट्टराईको खोजीमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको थियो ।

युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा–७ गोठगाउँ घर भएका २४ वर्षीय भट्टराई विगत आठ दिन देखि सम्पर्कविहीन थिए ।

गत १६ नोभेम्बर शनिबार साँझ करिब सवा ८ बजेतिर काम सकेर निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि उनको परिवारले लन्डनस्थित नेपाली दूतावास र यूकेको नेपाली समुदायसमक्ष खोजीका लागि अपिल गरेको थियो ।

सचिनले स्थानीय डोमिनोज पिज्जामा काम गर्दै आएका थिए । १६ नोभेम्बर राती डेरामा नफर्केपछि उनी संगै बस्ने साथी स्पन्दन वाग्लेले आइतबार उनको परिवार र सोमबार प्रहरीलाई खबर गरेका थिए ।

गत सेप्टेम्बर २१ मा मात्रै लन्डन आएका सचिन दुई महिना हुन नपाउँदै बेपत्ता हुँदा परिवार चिन्तित थियो । बेलायतस्थित नेपाली समुदाय पनि उनको खोजविनका लागि जुटेको थियो ।

उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर दुई महिना पहिले मात्रै बेलायत पुगेको छोरा बेपत्ता भएको समाचार सुन्दा परिवार ‘छाँगाबाट खसे’ जस्तो भएको जनाउंदै सचिनका पिता शशीकान्त भट्टराईले सबैसमक्ष खोजीका लागि अनुनय गरेका थिए ।

लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत बिपिन दवाडीका अनुसार, भट्टराईको वस्तुस्थिति पत्ता लगाउन दूतावासले सक्दो प्रयास गरिरहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू