शनिबार, मंसिर ८, २०८१
15:13 | २०:५८

धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय

रासस नोभेम्बर २३, २०२४

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो ।

उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

यस्तै, धरहरामा पार्किङ गर्दा चार पांग्रेलाई प्रतिघण्टा रु २० र दुई पांग्रेलाई १० तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू