रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनले दिए स्वीकृति
किएभ (युक्रेन), मङ्सिर ३ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रुसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र (मिसाइलहरू) प्रयोग गर्न स्वीकृति दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
एक अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा द न्यूयोर्क टाइम्स र द वासिङ्टन पोस्टको रिपोर्टलाई पुष्टि गर्दै युक्रेनले लामो समयदेखि माग गर्दै आएको नीति परिवर्तन उत्तर कोरियाले मस्कोको युद्ध प्रयासलाई सहयोग गर्न सेना तैनाथ गरेको प्रतिक्रियामा यो स्वीकृति आएको बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि वासिङ्टनबाट शक्तिशाली मिसाइल प्रणाली प्रयोग गर्ने अधिकारका लागि आग्रह गर्दै आएका थिए ।
रया नोभोस्ती एजेन्सीले रुसी तल्लो सदन (डुमा) को रक्षा समितिका प्रमुख आन्द्रेई कार्तापोलोभलाई उद्धृत गर्दै युक्रेनमा कुनै पनि कुराले अपरेसनको मार्ग परिवर्तन नगर्ने जनाएको छ ।
उत्तर कोरियाली सेनाको युद्धमा प्रवेश तथा आइतबारको ठूलो रुसी मिसाइल आक्रमणको सन्दर्भमा राष्ट्रपति बाइडेनले (रुसी राष्ट्रपति) पुटिनले बुझ्ने भाषामा प्रतिक्रिया दिएको विदेश मन्त्री रादोस्ला सिकोर्स्कीले एक्स मार्फत जनाएका छन् ।
आक्रमणको सिकार भएकोलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको उनले बताएका छन् ।
युक्रेन युद्धमा आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको चीनले शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ ।
‘प्रारम्भिक युद्धविराम र राजनीतिक समाधानले सबै पक्षको हितमा काम गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित ब्रिफिङमा बताएका छन् ।
आइतबार साँझको सम्बोधनमा जेलेन्स्कीको प्रतिक्रिया मौन रहेको जनाइएको छ ।
जाडो नजिकिँदै जाँदा बिजुली कटौती तथा ११ जना सर्वसाधारणको ज्यान लिने आक्रमण र पहिले नै नाजुक ऊर्जालाई थप क्षति पुरयाउने ठूलो आक्रमण गरेपछि युक्रेनले सोमबारदेखि देशव्यापी आपत्कालीन बिजुली प्रतिबन्धको घोषणा गरेको केही समयपछि बाइडेनको यस्तो स्वीकृति आएको हो ।
उत्तरपूर्वी सहर सुमीमा आइतबार साँझ भएको अर्को आक्रमणमा दुई बालकसहित दश जनाको मृत्यु भएको थियो ।
रुसको यो कार्यले द्रुतरुपमा अन्तर्राष्ट्रिय निन्दा बटुलिरहेको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘ऊर्जा र महत्त्वपूर्ण नागरिक पूर्वाधार’ लाई लक्षित गरी गरेको आक्रमणको निन्दा गरेको उनका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
युरोपियन युनियनकी प्रमुख उर्सुला भोन डेर लेयनले ब्राजिलको ग्लोबो न्यूजमा टिप्पणी गर्दै पावर ग्रीडमा भएको आक्रमण ‘भयानक’ भएको बताएकी छन् ।
मस्कोले किएभका साथै देशको दक्षिणी, मध्य र सुदूर पश्चिमी कुनाहरूलाई लक्षित गर्दै १२० मिसाइल तथा लगभग सय ड्रोन प्रक्षेपण गरेको उनले जनाएकी छन् ।
मस्को युक्रेनको पूर्वमा लगातार अगाडि बढिरहेका अवस्थामा बाइडेनको घोषणा आएको छ भने ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले किएभका लागि अमेरिकी समर्थनको भविष्यमा डर खडा गरेको छ ।
युद्धको तेस्रो जाडो अहिलेसम्म सबैभन्दा कठिन हुने धेरैलाई डर छ भने अघिल्ला रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा उत्पादन क्षमतालाई नष्ट गरिसकेको जेलेन्स्कीले बताएका छन् ।
पश्चिम र युक्रेनका अनुसार हजारौँ उत्तर कोरियाली सैनिकहरू रसियामा छन् भने केही कुर्स्क क्षेत्रमा छन् ।
उचित जवाफ दिने रुसको चेतावनी
क्रेमलिनले भने यदि युक्रेनले आफ्नो क्षेत्रमा आक्रमण गर्न लामो दुरीका मिसाइलहरू प्रयोग गरेमा रुसले जवाफ दिने चेतावनी दिएको छ ।
राष्ट्रपटि बाइडेनले युक्रेनलाई एटीएसीएम मिसाइलहरू रसियामा प्रहार गर्न अनुमति दिने निर्णयको प्रतिक्रियामा रूसी विदेश मन्त्रालयका प्रवक्ताले यदि त्यस्ता मिसाइलहरू रूसी भूमिमा हानेमा ‘उचित प्रतिक्रिया’ दिने चेतावनी दिए ।
बीबीसीका अनुसार मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो भूभागमा आक्रमण गर्न किएभले लामो दूरीको मिसाइलहरूको प्रयोगले रुस विरुद्धको शत्रुतामा संयुक्त राज्य अमेरिका र यसको उपग्रहहरूको प्रत्यक्ष संलग्नताको प्रतिनिधित्व गर्दछ, साथै द्वन्द्वको सार र प्रकृतिमा आमूल परिवर्तन गर्दछ । यस्तो अवस्थामा रूसको प्रतिक्रिया उपयुक्त र ठोस हुनेछ’, विज्ञप्तिमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५